सिराज खान
नेपालगन्ज, पुस २७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकामा करिब आठ सय विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा पालिका भित्रका ८ वटा विद्यालयका करिब आठ सय विद्यार्थीलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख अञ्जना थारूले बताउनुभयो ।
उहाँले आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेरदेखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउनुभयो ।
सरस्वती माध्यामिक विद्यालय भवानियापुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चिलहरिया, भुवरभवानी माध्यामिक विद्यालय विनौना, दिपप्रकाश माध्यामिक विद्यालय लालपुर, अमर ज्योति माध्यामिक विद्यालय नन्कौपुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुलरी, सरस्वती माध्यामिक विद्यालय पेनारी र जनता माध्यामिक विद्यालय बैजनाथपुरका कक्षा ८, ९ र १० का विद्यार्थीलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरूबारे जानकारी गराउने काम गरिएको शाखा प्रमुख थारूले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीलाई आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउनुका साथै स्वस्थ जीवनशैली तथा नसर्ने रोग न्यूनीकरण बारेमा जानकारी गराउने तथा स्थानीय रूपमा पाइने जडिबुटीबारे जानकारी प्रदान गर्ने उदेश्यले विद्यालयमै पुगेर प्रयोगात्मक अभ्यास गराइएको हो ।
अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नर्सने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएपछि राप्तीसोनारीले त्यसबारेमा विद्यालय उमेर समूहकै बालबालिकाहरूलाई जानकारी प्रदान गरेर स्वस्थ जीवनशैली अपनाउन उनीहरूलाई प्रेरित गर्न थालेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँले विद्यालय उमेर समूहका बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन विज्ञहरूकै उपस्थितिमा विद्यालय शिक्षा कार्यक्रम सुरु गरिएको जनाउनुभयो।
यस्ता कार्यक्रमले बालबालिकामा स्वस्थ जीवनशैलीबारे जानकारी हुने र आफ्ना अभिभावकहरूलाई पनि सचेतना फैलाउन सहज हुने जनाइएको छ । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा शाखा प्रमुख थारूसहित बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका डा.गीता रेग्मी, खजुरा गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख किरण खनाल, नरैनापुर आयुर्वेद शाखा प्रमुख रोशन शर्मा, डुडुवा आयुर्वेद शाखा प्रमुख उर्मिला थारू, कोहलपुर आयुर्वेद शाखाका गौरी शंकर मण्डलले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।