• २७ पुस २०८१, शनिबार

उदयपुर र खोटाङ जोडियो

blog

गाईघाट–दिक्तेल सडकखण्डकोे फोक्सिङटारस्थित सुनकोशी नदीमा उदयपुर र खोटाङ जिल्ला जोड्ने गरी निर्माण गरिएकोे अस्थायी बेलिब्रिजबाट गाडी गुडाइँदै ।तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, पुस २७ गते । गाईघाट–दिक्तेल सडकखण्डकोे सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । पचास मिटर लम्बाइको अस्थायी बेलिब्रिज निर्माण भएपछि शुव्रmबारदेखि यातायात सञ्चालनमा आएको हो । उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने गाईघाट–दिक्तेल–सगरमाथा लोकमार्ग अन्तर्गतको सो पुल गत असोज १२ गते आएको कोशीको बाढीले भत्काएको थियो । 

सडक आयोजनाका प्रमुख डिई पशुपति ज्ञवालीले बाढीले भत्काएको फोक्सिङटारको सुनकोशी नदीको पक्की पुल पुनर्निर्माण नभएसम्म यातायात  सञ्चालनका लागि बेलिब्रिज जडान गरिएको स्पष्ट पार्नुभयो । 

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको पुल निर्माणको अन्तिम काम बाँकी रहेकै अवस्थामा बाढीले बगाएको उहाँको भनाइ छ । 

गाईघाट–दिक्तेल सडक योजनाले पुल भत्किएपछि वैकल्पिक रूपमा यातायात सञ्चालन गर्न बेलिब्रिज निर्माण गर्न अघिल्लो महिना ठेक्का आह्वान गरे अनुसार एस आर्यन कन्स्ट्रक्सन मल्टिप्रपोज प्रालि कटारी–३ उदयपुरलाई एक करोड दुई लाख ९४ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माणको काम धेरै छिटो सम्पन्न गरेको डिई ज्ञवालीले बताउनुभयो । 

बाढीले पुल बगाएपछि फोक्सिङटारमा यातायात ठप्प हुँदा यात्रुले नदी वारपार गर्न सास्ती खेप्दै आएकोमा अब भने सहज भएको खोटाङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । उपभोग्य वस्तु ओसारपसार गर्न फोक्सिङटारमा झोलुङ्गे पुलको विकल्प नहुँदा रसुवामा रहेको झोलुङ्गे पुल प्रयोग गर्न बाध्य हुनु परेको र यो निकै घुमाउरो पर्ने गथ्र्यो । अस्थायी पुल सञ्चालनमा आएपछि खोटाङका आमनागरिकलाई निकै सहज भएको स्थानीय बताउँछन् ।  

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोशीस्थित पुल निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले यसअघि फोक्सिङटारमा निर्माण गरेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी हुँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको हो । 

ठेकेदारको ढिलासुस्तीका कारण यसअघि फोक्सिङटारमा पक्की पुल बन्न १० वर्ष कुर्नु परेको थियो । गाईघाट–दिक्तेल सडक आयोजना कार्यालय गाईघाटका प्रमुख पशुपति ज्ञवालीले भत्किएको पुलको अध्ययन गर्न र १२० मिटरभन्दा लामो बेलिब्रिज राख्न बढी समय लाग्ने भएकाले तत्काललाई अस्थायी बेलिब्रिज जडान गरेर यातायात सुचारु गरिएको बताउनुभयो ।