भैरहवा समाचारदाता
भैरहवा, वैशाख ७ गते । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिको टोलीले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत अनुगमन गरेको छ ।
टोलीले सेजमा रहेका उद्योगको शुक्रबार अनुगमन गर्दै उद्योग सञ्चालनमा देखा परेका कठिनाइका विषयमा उद्योगीसँग अन्तर्क्रिया गर्दै जानकारी लिएको छ ।
समितिका सभापति अब्दुल खानले सेज सञ्चालनमा देखा परेका व्यावहारिक तथा प्राविधिक कठिनाइका विषयमा आफूहरूको ध्यानाकर्षण भएको बताउँदै समाधानका लागि सेजलाई राम्रोसँग चलाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रले सेजमा उद्योग स्थापना गर्न अहिलेसम्म गरेको पहलका लागि धन्यवाद दिँदै उद्योगीलाई परेको समस्या सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सभापति खानले सेजमा निर्माण गर्न बाँकी संरचना छिटो गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
त्यसै गरी सभापति खानले सेज अनुगमनका क्रममा उद्योगी, व्यवसायी, श्रमिकका समस्या बुझ्न पाइएको र कतिपय गुनासो र समस्या कानुन बनाएरै सम्बोधन गर्नुपर्ने देखिएकाले केही समय लाग्ने बताउनुभयो । अनुगमनका क्रममा समिति सदस्य रेखा यादवले सिमेन्टलगायत वस्तुको मूल्यवृद्धि भएको उजुरी आएपछि वास्तविक अवस्था बुझ्न विभिन्न उद्योगको स्थलगत अनुगमन गरिएकोसमेत बताउनुभयो ।
यसै गरी बुटवल समाचारदाताका अनुसार रुपन्देहीका उद्योगी व्यवसायीले सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिलाई खुला सीमाका कारण नेपाली सीमावर्ती बजार प्रभावित भएको बताउँदै सीमा नियमन अनुगमनमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
मूल्यवृद्धिको अवस्थाको अध्ययनका लागि रुपन्देही आएको संसदीय समितिले बुटवल उद्योग वाणिज्य सङ्घमा शुक्रबार दिउँसो गरेको अन्तर्क्रियामा उद्योगी व्यवसायीले नेपालकै उद्योगले उत्पादन गरेका वस्तुको प्रवर्धन गर्न आयातलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिनुभएको छ ।
त्यस अवसरमा संसदीय समितिका सभापति अब्दुल खानले पछिल्लो समय सिमेन्ट तथा डन्डीमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएकोमा धेरैको चासो रहेको बताउँदै समितिले त्यसबारे अध्ययन गरेर सरकारलाई यथार्थ जानकारी गराउने बताउनुभयो ।
उहाँले कानुन निर्माण तथा सुधारको प्रमुख कार्यभार संसदीय समितिको भएको बताउँदै नीतिगत सुधारका लागि संसदीय समितिलाई यथार्थपरक रूपमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
समितिका सभापति अब्दुल खानको नेतृत्वमा समितिका सदस्यहरू कान्तिका सेजुवाल, गणेश पराजुली, रमा कोइराला पौड्याल, रुक्मणि राना बराइली, रेखा यादव, हेमराज राईसहितको टोलीले लुम्बिनी प्रदेश सभाका सदस्यसँग पनि अन्तर्क्रिया गरेको थियो ।