• २६ पुस २०८१, शुक्रबार

संघीयतामाथि प्रश्न उठाउनु गलत : गृहमन्त्री लेखी

blog

मिडिया काउन्सिल मधेश प्रदेशको कार्यक्रममा गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी सहितका अतिथि। तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, पुस २६ गते। मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउनुभएको छ। 

उहाँले संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि नै प्रश्न उठ्ने भएकोले संघीयतामाथि प्रश्न उठाउनु जायज नभएको बताउनुभयो। 

मिडिया काउन्सिल मधेश प्रदेशले शुक्रबार जनकपुरधाममा ‘बद्लिदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका’ विषयमा दुई दिने क्षमता विकास तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले देशमा तीन तहको संरचना लागूपछि मात्रै विकासका कामले गति लिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “विगत कैयौ वर्षमा हुन नसकेको काम संघियता आएपछि भएको छ। गाँउ–गाँउमा पुल पुलेसा, सडकको निर्माण भएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालयसहितका संरचना निर्माण भएको छ। त्यो सबै संघियताको उपज हो।”

उहाँले देश संघीयतामा गएकै कारण विभेदमा परेका मधेशी, जनजाति, मुस्लिम, महिला ,पछाडि पारिएका सबै नेपालीको तीनै तहको संरचनामा उपस्थिति देखिएको भन्नहुँदै यो महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। 

कार्यक्रममा राससका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले राज्यको नीतिनियम भुइँ मान्छेसँग र भुइँ मान्छेको कुरालाई राज्यसम्म पुर्‍याउने काममा रासस अग्रस्थानमा रहेको बताउनुभयो। 

उहाँले प्रदेश सरकारको न्यूज एजेन्सी भएर काम गर्न रासस तयार भएको बताउनुभयो। उहाँले रासस मधेश प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढन चाहेको भन्नुहुँदै राससको प्रदेश कार्यालय सञ्चालनको दायित्व लिन मधेश प्रदेश सरकारलाई आग्रह गर्नुभयो।

मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, प्रदेश महासचिव शैलेन्द्र महतो, धनुषा अध्यक्ष पुरण साह, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्ण सहितले आफ्नो धारणा राख्नुभयो। दुई दिनसम्म चल्ने उक्त तालिममा राससका मधेश प्रदेशका सामाचारदाताहरुको सहभागिता रहेको छ।