बोलीलाई व्यक्तित्वको ऐना भनिन्छ । हाम्रो रूपरङ कस्तो छ भन्ने कुरा ऐना हेरेर थाहा पाइन्छ । ठिक त्यस्तै गरी बोलीबाट मानिसको चरित्रका बारेमा थाहा पाउन सकिन्छ । बोलीले मानिसलाई चिन्न सकिन्छ । त्यसैले बोलीको महत्व हुने गरेको हो ।
मिठो बोली सबैका लागि प्रिय हुन्छ । नमिठो बोली अप्रिय हुन्छ । जो मिठो बोल्छ उसलाई साथीभाइ, आफन्त, छरछिमेक आदिले मन पराउँछन् । उसले सबैबाट प्रशंसा पाउँछ । मिठो बोलीले व्यक्तिगत सम्बन्धलाई बलियो बनाउँछ । यसबाट समाजमा सम्मान र प्रतिष्ठा प्राप्त हुन्छ ।
बोलीमा मानिसलाई प्रभावित पार्ने र आफ्नो बनाउने क्षमता हुन्छ । यसका लागि कुनै अतिरिक्त बल वा शक्तिको आवश्यकता पर्दैन । मिठो बोलीको प्रभाव यति शक्तिशाली हुन्छ कि कठोर हृदय भएको व्यक्तिलाई पनि नरम बनाइदिन्छ । मिठो शब्दको प्रयोग गर्ने र विनम्र हुने व्यक्तिसँग कोही पनि रिसाउँदैन ।
बोली वाण पनि हो । नराम्रो बोल्दा वाण लागेको जस्तै दुःख्ने गरी बिझाउँछ । नरम बोलीले आनन्द दिन्छ । सही र सत्य वचन बोल्नु पर्छ । त्यसैले बोल्दा शब्दको प्रयोगमा ख्याल राख्नु पर्छ । जे पायो त्यही शब्द प्रयोग गर्नु हुँदैन । मिठो बोलीले सम्बन्ध सुमधुर बनाउँछ । अपरिचित व्यक्तिसँग बोलीकै कारण नजिकको सम्बन्ध कायम हुनसक्छ । सम्बन्ध गाढा हुन सक्छ । बोलीकै कारण नजिकको साथी टाढा हुन सक्छ । सम्बन्ध बिग्रन सक्छ ।
मिठो बोल्नका लागि सबैलाई आफू जस्तै ठान्नु पर्छ । अहङ्कारलाई त्याग्नु पर्छ । रिस, राग, द्वेष, प्रतिस्पर्धा वा प्रतिशोधको भावना राख्दा बोलीमा मिठास आउँदैन । त्यस्ता भावना राख्दा बोलीमा कठोरता आउँछ । अहङ्कार, क्रोध, ईष्र्या, आवेश र प्रतिशोधमाथि नियन्त्रण गर्न सक्दा बोली मिठो हुन जान्छ । मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोली फिर्ता हुन सक्दैन । यसैले बोल्दा सधैँ शान्तसँग अरूलाई नबिझ्ने र चोट नपुग्ने गरी बोल्नु पर्छ ।