महोत्तरीको एकडारा गाउँपालिका सदरमुकाम जलेश्वरभन्दा करिब आठ किलोमिटरको दुरीमा रहेको छ । साबिकको एकडारा, भटौलिया, हलखोरी र कोल्हुवा गाविसलाई समेटेर गठन भएको हो । यस पालिकाको कुल जनसङ्ख्या ३२ हजार ६० रहेको छ भने क्षेत्रफल २४ वर्ग किलोमिटर रहेको छ । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट पालिका अध्यक्षमा निर्वाचित दीपनारायण मण्डलसँग गोरखापत्र दैनिकका जलेश्वर समाचारदाता महेशकुमार दासले गर्नुभएको कुराकानी ः
निर्वाचनको समयमा जनतासँग गर्नुभएका प्रतिबद्धता के कति पूरा भए ?
निर्वाचनअघि हामीले चार वटा ‘स’ लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ । चार ‘स’ भन्नाले शिक्षा, स्वास्थ्य, सडक र सुशासन हुन् । अहिले यिनै विषयलाई प्राथमिकतामा राखेर आगामी २५ वर्षसम्मलाई प्रभाव पर्ने गरी काम गरिरहेका छौँ । हामीले शिक्षामा व्यापक लगानी गरेका छौँ । मदरसासहित १९ वटा सामुदायिक विद्यालयका भवन निर्माण पूरा भएका छन् । वडा नं. ३ र ६ मा रहेका विद्यालयमा भने काम गर्न बाँकी छ । यसै गरी दुई वटा १० प्लस २ विद्यालय पनि सञ्चालन गर्न थालेका छौँ । स्वास्थ्य क्षेत्रमा पनि थुप्रै काम भएका छन् । वडा नं. १ देखि ५ मा स्वास्थ्य चौकी सञ्चालन भइरहेका छन् । दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् । समग्रमा स्थानीयवासीको जीवनस्तर उकास्ने गरी काम गरिरहेका छौँ ।
पूर्वाधार निर्माणका क्षेत्रमा के कस्ता काम गर्दै हुनुहुन्छ ?
पूर्वाधारको कुरा गर्दा मूलतः सडक पूर्वाधारमा बढी काम भएको छ । हामी निर्वाचित भएर आएको अढाई वर्षमा करिब ११ किलोमिटर ग्राभेल र कच्ची सडक निर्माण गर्न सफल भएका छौँ ।
भगहिय–हलखोरी–चकवा खण्डमा नयाँ सडक बनेको छ । यहाँ रहेको मुस्लिम टोलमा पनि सडक निर्माण भइसकेको छ । समग्रमा भन्नु पर्दा एकडारा गाउँपालिका हिलोमुक्त पालिका बनिसकेको छ । सुशासनका क्षेत्रमा पनि काम गर्दै छु । समाजमा चेतनाको कमी छ । सडक त बन्यो तर सडकमै बिस्कुन सुकाउने, जनावर बाँध्ने, जथाभाबी फोहोर गर्ने जस्तो बानी स्थानीयवासीको हट्न सकेको छैन । त्यस्तो बानी सुधार गर्न अहिले हामी लागिपरेका छौँ । यस्तै केही कार्यविधि पनि निर्माण गरिँदै छ ।
पालिकाभित्र आन्तरिक स्रोतसाधनको अवस्था कस्तो छ ? त्यसको परिचालन कसरी गरिरहनुभएको छ ?
हाम्रो पालिकामा साधनस्रोत त्यति धेरै छैन । जम्मा एउटा जेसिबी छ । त्यो पनि सडक मर्मतसम्भारमा पालिकाको काममा मात्र खटाइने स्थिति छ । पालिकामा रहेका पोखरी सबै विद्यालयको जिम्मामा छन् । बाँकी रहेको एउटा पोखरीका विषयमा मुद्दा चलिरहेको छ । यसैबिच दुई वटा हटिया लागिरहेको छ । अब ती हटियालाई ठेक्का लगाउने योजनामा हामी छौंँ ।
सङ्घ र प्रदेश सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ? सहयोग पाउनुभएको छ कि छैन ?
सङ्घ र प्रदेशबाट हाम्रो पालिकाका लागि वारुणयन्त्र, एम्बुलेन्सलगायत भौतिक संरचनाको कामको अपेक्षा गरेका थियौँ तर पाउन सकेको अवस्था छैन । प्रदेश र सङ्घले हाम्रो पालिकामा पनि आफ्नै ढङ्गले काम गरिदिँदा झन् समस्या थपिएको छ । पालिकासँग कुनै सहकार्य नै नगरी काम गर्ने र अख्तियारमा मुद्दा परेपछि थप समस्या हुने गरेको छ । विगत एक वर्षदेखि प्रदेश र सङ्घ दुवै सरकारले जानकारी नै नदिई काम गर्ने गरेका छन् । यस्तो प्रवृत्तिले थप समस्या हुने गरेको छ । प्रदेश र केन्द्रबाट अहिलेसम्म हाम्रो अपेक्षा अनुसारको कुनै सहयोग पाएका छैनौँ ।
पालिकाको काममा के कस्ता चुनौतीको सामना गर्दैै हुनुहुन्छ ?
समस्या र चुनौतीको चाङ नै छन् । रूढिग्रस्त समाज परिवर्तन गर्न निकै ठुलो समस्या छँदै छ । अहिलेसम्म पालिकाको आफ्नो भवन छैन । छिट्टै आफ्नो भवन बनाउने योजनासहित काम भइरहेको छ । हिउँदे अधिवेशनबाट भवनका लागि बजेट विनियोजन गरेर काम सुरु हुन्छ । सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न विभिन्न कार्यव्रmम निरन्तर सञ्चालन गर्नु जरुरी छ ।
हामीले जतिसुकै राम्रो सोच र मनसायले काम गरे पनि ५०/६० वटा मुद्दा अख्तियारमा परेका छन् । राम्रो कामलाई सबैले सहयोग गरे हुन्थ्यो । त्यसैले बनाएका योजनामा पनि काम गर्न सकिएको छैन । सबैलाई विकास पनि चाहिएको छ तर आफ्नो भने एक हात जग्गा पनि भएन भन्ने बुझाइ छ । माघदेखि द्रुत गतिमा काम अगाडि बढाउने छौँ । सरसफाइका लागि भाडामा ट्याक्टर लिएर पनि उठाउने व्यवस्था गर्दै छौंँ ।
दलित तथा विपन्न नागरिकका समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
यहाँका दलित तथा विपन्न नागरिकका लागि धेरै काम त हुन सकेको छैन तर पनि विभिन्न गैरसरकारी संस्थाका माध्यमबाट जीविकोपार्जनको काम हुँदै छ । सिपमूलक कार्यव्रmम सञ्चालन भइरहेका छन् । सिप सिक्ने तर कार्यान्वयन नहुने गरेकाले सामूहिक रूपमा काम गर्न सहयोग र प्रेरित गर्नुपर्ने छ । हामी त्यस अभियानमा लाग्दै छौँ ।
कृषि क्षेत्रको विकासका लागि के कस्ता योजना बनाउनुभएको छ ?
कृषिको विकासका लागि हामीले रैथाने बालीको विकास र प्रवर्धनलाई प्राथमिकतामा राखेका छौँ । गहुँ र तरकारी बालीका लागि बिउ वितरण गरेका छौँ । यस क्षेत्रमा सिँचाइको असुविधाका कारण चैते बाली राम्रो हुन सकेको छैन । धान, मकै, दलहन, गहुँ, पकेट क्षेत्र कायम गरेर काम गर्ने हाम्रो योजना छ । नगदे बालीका रूपमा उखु खेती रहेकाले त्यसमा ह्रास आउन नदिएर बढाउनु जरुरी छ । यस क्षेत्रमा सिँचाइका लागि बलवामा बाँध बाँधेर काम भइरहेको छ । गनौरा पुरा फाँट निर्माण गरेर सिँचाइ भइरहेको छ । यसरी करिब १२ हेक्टरमा सिञ्चित गर्न सकेका छौँ । ट्युबेल र डिप बोरिङ राखेर सिँचाइ सुविधा पु-याउने प्रयास भइरहेको छ ।