कोशी प्रदेश ब्युरो
इटहरी, पुस २६ गते । पूर्वी नेपालको तराई क्षेत्रमा शीतलहर र हुस्सुसँगै जाडो बढेपछि जनजीवन कष्ठकर बनेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । शीतलहरका कारण सडक र हवाई यातायातसमेत प्रभावित भएको छ । शीतलहर र हुस्सुका कारण राजमार्गमा दृश्यता कम हुँदा सवारी दुर्घटना बढेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । बिहान र साँझको समयमा विशेष गरी सवारीसाधन चलाउन कठिनाइ हुने गरेको छ ।
अत्यधिक हुस्सुका कारण बस, ट्रक र अन्य सवारीसाधनले तोकिएको गन्तव्यमा समयमै पुग्न नसक्दा यात्रु मारमा पर्ने गरेका छन् । सो कार्यालयको तथ्याङ्क अनुसार गत एक साताको अवधिमा पूर्वी नेपालमा ११ वटा सवारी दुर्घटनामा परेका छन् ।
त्यसै गरी शीतलहर र खराब मौसमले हवाई सेवा पनि प्रभावित हुन थालेको छ । विराटनगर विमानस्थलमा उडान र अवतरणमा ढिलाइ हुनुका साथै केही उडानहरू स्थगित भएका छन् । यसले गर्दा यात्रुहरू लामो समयसम्म विमानस्थलमा पर्खन बाध्य छन् । चिसो बढेपछि सर्वसाधारणले दाउरा बालेर वा घुर तापेर चिसो छल्न खोजिरहेका इटहरीका स्थानीय बासिन्दा मनीष खड्काले बताउनुभयो । झापा, मोरङ र सुनसरीका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले दाउराको अभावका कारण थप कठिनाइ झेल्नु परेको छ ।
शीतलहर र हुस्सुसंँगै जाडो बढेका कारण वृद्धवृद्धा, बालबालिका, र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ । अत्यधिक चिसोका कारण निमोनिया, रुघाखोकी, दम र श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. शशी शर्मा रिजालले जानकारी दिनुभयो । डा. शर्माले चिसो मौसममा विशेष गरी बालबालिका र वृद्धको हेरचाहमा ध्यान दिन सुझाव दिनुभएको छ । बढ्दो चिसो मौसममा न्यानो कपडाको अभावमा विपन्न वर्गका समुदाय बढी प्रभावित भएका छन् । स्थानीय बजारमा चिसोका कारण चहलपहल घटेको छ ।
शिक्षण संस्था बन्द
चिसो बढेपछि तराई क्षेत्रका अधिकांश कलेजमा जाडोका कारण बिदा दिइएको छ । सामुदायिक र निजी विद्यालयले विद्यार्थीलाई चिसोबाट बचाउन शुक्रबार त्रैमासिक परीक्षा सकेर बिदा दिने योजना बनाएका छन् । अधिकांश स्थानीय तहले प्याब्सन र एनप्याब्सनसँग समन्वय गरेर जाडो बिदा दिने निर्णय गरेको बताएका छन्
हिमपातपछिको फालोटको जादुई रूप
पाँचथर समाचारदाता नारायण तुम्बापोका अनुसार पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिमपातले यो क्षेत्रलाई जादुमय रूप दिएको छ । हिउँको सेतो च्यादरले ढाकिएको फालोटको सौन्दर्यले यतिबेला जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
फालोट क्षेत्रका चारराते, तिनसिमाना, लामपोखरी, चिवाभन्ज्याङ र तिम्बुङ पोखरी जस्ता स्थानमा हिउँले सेतो रङको क्यानभास सिर्जना गरेको छ । तीन हजार पाँच सय मिटरको उचाइमा अवस्थित यो क्षेत्र अहिले पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । हिउँले भरिएका विशाल चउरमा चौँरी गाई देखिने दृश्यले यहाँको सौन्दर्यलाई थप मोहक र रोचक बनाइदिन्छ । थप हिमपात नभएपछि यो मोहक दृश्य करिब एक सातासम्म रहने अनुमान गरिएको छ । यहाँबाट सूर्योदयका साथै कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, सगरमाथालगायतको हिमशृङ्खला पनि हेर्न सकिन्छ ।
तर फालोटको यो जादुई रूप हेर्न नेपालतर्फबाट पुग्न सहज छैन । यहाँसम्म पुग्ने कुनै व्यवस्थित बाटो छैन, न त सञ्चारको उचित पहुँच नै छ । पर्यटकमैत्री पूर्वाधारको अभावका कारण नेपाली पर्यटकले फालोटको जादुई सुन्दरता देख्न कठिन नै हुन्छ । विभिन्न देशका पर्यटक भने भारत हुँदै फालोट आइपुग्ने गर्छन् ।
फालोट क्षेत्रको पर्यटनबाट भारतले नै धेरै फाइदा पनि लिइरहेको छ । स्थानीय तहले फालोटको पर्यटन प्रवर्धनमा ठोस योजना बनाउन नसक्दा यो क्षेत्रको सम्भावना ओझेलमा परेको हो । फालेलुङ–८ का घनेन्द्र केरुङका अनुसार पर्यटनसँग जोडेर सघनले फालोटको प्रवर्धन गर्न सकेमा यो ठाउँ पर्यटकका लागि प्रमुख गन्तव्य बन्न सक्छ ।
फालोटको पहाडमा केही समयअघिदेखि चौँरी महोत्सव भने हुँदै आएको छ । यसले हिमाली जीवनशैलीको प्रवर्धन गर्न र हिमालको पहिचानलाई जीवन्त राख्ने प्रयास गरेको छ । पाँचथरका पर्यावरण संरक्षणकर्मी सुनील बान्तवा फालोटको मुख्य पहिचान हिउँमै रहेको र हिमपातले मात्र फालोटको जादुई रूपलाई संरक्षण गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिउँले हिमाली रूप उजागर गर्नुका साथै पर्यावरणीय चक्र र रैथाने खेती प्रणालीलाई पनि जीवन्त राख्छ । यसबाट पनि पर्यटन प्रवर्धनमै सहयोग पुग्छ ।” जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा हिमपात दर घट्दै जाँदा स्थानीयवासीले चिन्ता व्यक्त गर्ने गरेका छन् ।