• २६ पुस २०८१, शुक्रबार

दैनिक २० टन क्षमताको जडिबुटी प्रशोधन केन्द्र

blog

छिपु कम्पनिको चुत्रो प्रशोधन केन्द्र, पर्वत ।

प्रनिश गिरी 

कुश्मा पर्वत, पुस २५ गते । पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडिबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मानगरपालिका ५ स्थित कालीगण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रालिले ८ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।

करिव सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनिले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पूरागरी अवको केही हप्ताभित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ । कम्पनिको स्थानीय प्रतिनिधि दिपेन्द्रबहादुर भण्डारीका अनुसार कम्पनिले म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, स्याङ्जा लगाायतका जिल्लाबाट गैह्रकाष्ठ वन पैदावर अन्तर्गत पर्ने चुत्रोको संकलन गरिने छ । 

चुत्रोको जरा, हाँगा र डांठ ल्याएसँगै प्रशोधनको काम हुन्छ । प्रशोधित गरी पठाइएको धुलोको औषधीजन्य पदार्थमा मिश्रण गरी पेनकिलर, सुगर रोगलगायतको औषधी बनाइने बताइएको छ । 

चुत्रोको कच्चापदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै कम्पनिसम्म ल्याउनुपर्नेछ । कम्पनिले प्रतिकेजी २० रुपियाँका दरले कृषकसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी ८ रुपियाँका दरले गुर्जोगानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि हुन सक्ने बताइएको छ ।

छिफु कम्पनिका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले कच्चा पदार्थ मात्र तयार गर्दछ । तयारी पदार्थको उत्पादन हुँदैन । सूचना अधिकारी श्रेष्ठले वैदेशिक लगानीभन्दा साथै धेरै हाउगुजीको रुपमा लिन नहुने भन्दै भन्नुभयो, “चुत्रो भनेको यहाँ कामै नलाग्ने कांडे झाडीको रुपमा लिइएको पदार्थ हो । यो यसै प्रशोधित हुँदैन । यसका लागि नून, पानी र सल्फिड एसिडमा कच्चा पदार्थ केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।” 

सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनि संम्भवत नेपालमै पहिलो भएको दाबी गर्नुभएको छ । वन ऐन र नियमावलीअनुसार सामुदायिक वनमा बाटोको समस्या र सरकारी वन कार्ययोजनामा रहेका केही कठिनाइले प्रशोधन केन्द्र सञ्चालनमा चुनौती रहेको कम्पनिका सूचना अधिकारी श्रेष्ठको गुनासो छ ।

जिल्ला वन डिभिजन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकले गैह्रकाष्ठ वन पैदावर अन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले विक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउँदै भन्नुभयो, “पर्वतमा चुत्रो १ हजार मिटर उचाइदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ । बाँझो बन्दै गएका व्यक्तिगत खरवारी, पाखो यत्रतत्र पाइन्छ । चुत्रो जातका वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्था छ ।” 

चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी समेत गरिएको छैन । चुत्रोको दुई खाले वनस्पति पाइन्छ । लेकाली भेगमा अलि अग्लो जमाने मान्द्रो नामको चुत्रो हुन्छ भने पहाडी तल्लो भेगमा अलि होचो र झाडीदार हुन्छ, जसलाई चुत्रो भनिन्छ । चुत्रो जराबाट सर्छ ।