• २६ पुस २०८१, शुक्रबार

गर्भवती र सुत्केरीलाई पोषण आवश्यक

blog

तस्बिर :केदार तिमल्सिना जिल्लाका बाढीपहिरो प्रभावित गर्भवती र सुत्केरी आमाका लागि ब्ल्याङ्केट वितरण कार्यव्रmमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री आरजु राणा ।

बनेपा समाचारदाता 

बनेपा, पुस २६ गते  । परराष्ट्रमन्त्री आरजु राणाले गर्भवती र सुत्केरी अवस्थाका महिलाको पोषणलगायतमा परिवारका साथै समाज र सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालले बिहीबार आयोजना गरेको बाढीपहिरो प्रभावित गर्भवती र सुत्केरी आमाका लागि मन्त्री राणाले ब्ल्याङ्केट वितरण गर्नुभयो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाको पोषणलगायतमा सहयोग गर्न सके देशले सुयोग्य नागरिक पाउने बताउनुभयो । उहाँले सुरक्षित मातृत्व (सेफ मदरहुड) का लागि घरपरिवारका साथै समाज र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

“एउटा बच्चा घरपरिवारको सदस्य भए पनि ऊ समुदाय र देशको एउटा नागरिक जन्मिएको हो, त्यो नागरिकको दायित्व सरकारले पनि लिनु पर्दछ भन्ने आवाज उठाउँदै आएका छौँ,” सञ्जालका संस्थापक अध्यक्षसमेत रहेकी मन्त्री राणाले भन्नुभयो । उहाँले संविधान लेख्ने बेलामा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका अधिकार राख्न सफल भएको स्मरण गर्दै अहिले पनि कतिपय गाउँघरमा महिलाले प्रसव पीडाबाट ज्यान गुमाउनु परेको बताउनुभयो । 

“समाजमा रहेका गर्भवती महिलालाई राम्रो खाना, आराम र स्वास्थ्य सेवा दिनका लागि हामी सबैले आआफ्ना स्थानबाट काम गर्नु पर्दछ,” मन्त्री राणाले थप्नुभयो । उहाँले जलवायु परिवर्तनलगायतका कारण यस वर्ष असोज महिनामा बेमौसमी बाढीपहिरो आएको बताउँदै जलवायु परिवर्तनलगायतका कारणबाट विपत्का घटनाका साथै भूकम्पको जोखिम रहेकाले सतर्क र सजग रहन आग्रह गर्नुभयो । 

कार्यव्रmममा सञ्जालले बाढीपहिरोबाट प्रभावित जिल्लाका छ वटा स्थानीय तहमा रहेका गर्भवती तथा सुत्केरी आमाका लागि एक हजार ९० थान ब्ल्याङ्केट वितरण गरेको छ । 

कार्यव्रmममा पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षित मातृत्व र प्रजनन अधिकारका लागि सञ्जालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले असोज दोस्रो साता आएको बाढीपहिरोका कारण जिल्लामा अर्बौंको क्षति भएको बताउँदै बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिदिन अनुरोध गर्नुभयो । 

महासङ्घका कोषाध्यक्ष सुनील श्रेष्ठले सञ्जालले सुरक्षित मातृत्वका लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापनाका साथै विपत्, महामारीमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु गर्नका लागि आवश्यक पहललगायतका कार्य गर्दै आएको बताउनुभयो ।