काठमाडौँ, पुस २५ गते। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चीन चलचित्र दिवस’को आयोजना गरिएको छ।
पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथि रहेको समारोहमा वरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली चलचित्र र साहित्यसँग सम्बन्धित व्यक्तित्वको साथमा चिनियाँ फिल्ममेकर र कलाकारको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चाइना फिल्म डेको उद्घाटनमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो सांस्कृतिक सम्बन्धको उत्सव हो। यसले हामी दुई देशका चलचित्रमार्फत हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास लिएको छु।’
त्यस्तै आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले आजको कार्यक्रम केवल चलचित्र हेर्ने कार्यक्रम मात्र नभई दुई देशको सम्बन्धका लागि एउटा सुरुवाती प्रवेशद्धार रहेको उल्लेख गर्नुभयो।
चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताउनुभयो।
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका वर्षमा चीन चलचित्रका लागि विश्वको ठुलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायांकन भएको बताउनुभयो।
चलचित्र दिवसमा सहभागी हुन् १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित चर्चित कलाकारको उपस्थिति थियो।
क्यूएफएक्स सिनेमाको छाया सेन्टरमा आयोजित कार्यक्रममा तीन चिनियाँ फिल्म यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ।
फिल्म प्रदर्शनपछि तीन वटै फिल्मका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गरेका थिए।