मधेश प्रदेश ब्युरो
जनकपुर, पुस २५ गते । पछिल्लो दुई दिनदेखि मधेश प्रदेशका जिल्लामा फेरि शीतलहर चल्न थालेको छ । शीतलहरले मधेशका आठ वटै जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । एक साताअगाडि चार दिनसम्म चलेको शीतलहर बिहानबेलुकामा सीमित भएको थियो । सोमबारमध्य रातदेखि फेरि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्दा कठ्याङ्ग्रिन थालेकाले जनजीवन प्रभावित बनेको छ । दुई दिनदेखि मधेशका जिल्लामा घाम उदाएको देखिएको छैन ।
विद्यालय बिदा
महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णका अनुसार दुई दिनदेखि लगातारको पश्चिमी वायुका कारणले महोत्तरीमा शीतलहर बढेपछि जनजीवन प्रभावित बनेको छ । जिल्लाको उत्तरवर्ती क्षेत्रमा घाम उदाउने तर दक्षिण क्षेत्रमा भने हावाका कारणले बाक्लो कुहिरो तथा सिमसिमे शीत खस्नाले जनजीवन प्रभावित बनेको छ । सोमबार घाम उदाएपछि केही राहत महसुस भएको थियो । मङ्गलबारदेखि चिसो सिरेटो चलेपछि फेरि जनजीवन प्रभावित बनेको हो । बिहानैदेखि चिसोका कारणले घरबाहिर निस्कने वातावरण नरहेको जलेश्वरका दिलीप दासले बताउनुभयो । उहाँले बिहानै हिँड्नेलाई पनि मङ्गलबार र बुधबारको चिसोले घरबाहिर निस्कन समस्या भएको बताउनुभयो । बाहिर हावा जोडले चलेकाले चिसो बढेको बुझाइ दासको रहेको छ ।
चिसो बढेपछि विभिन्न निकायले कम्बल वितरण गर्ने तथा स्थानीय पालिकाले विद्यालयमा बिदा घोषणा गर्न सुरु गरेको छ । कतिपय निजी विद्यालयमा परीक्षा चलिरहेकाले बिदा दिइएको छैन । नेपाली सेनाको गोरखनाथ गणले चिसोबाट प्रभावित महोत्तरीको औरहीको दलित बस्तीमा मण्डी (कम्बल) वितरण गरेको छ । औरही नगरपालिकाको वडा नं. १ र २ वडाका मुसहर बस्तीमा सेनाले दोस्रो चरणमा ३२० थान कम्बल वितरण गरेको छ । यसअघि सेनाले महोत्तरीको मटिहानीको दलित बस्तीमा कम्बल वितरण गरेको थियो । मटिहानी नगरपालिकाका १२३ जनालाई मण्डी (कम्बल) वितरण गरिएको थियो ।
दुई दिनदेखि थप चिसो बढेपछि महोत्तरीका मनरासिस्वा नगरपालिकाले पुस २४ गतेदेखि २९ गतेसम्म, एकडारा गाउँपालिकाले पुस २४ गतेदेखि माघ १ गतेसम्म, पिपरा गाउँपालिकाले पुस २२ गतेदेखि २९ गतेसम्म विद्यालय बिदा दिने भएका छन् । लोहारपट्टी नगरपालिकाले पुस २१ गतेदेखि २९ गतेसम्म, महोत्तरी गाउँपालिकाले पुस २४ गतेदेखि पुस २६ गतेसम्म बिदा घोषणा गरेको छ । विद्यालयले वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिएको जनाएको छ ।
बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार मङ्गलबार अपराह्नसम्म २५ देखि १३ डिग्री रहेको यहाँको तापक्रम बुधबार १७ देखि १० डिग्रीमा झरेको छ । पश्चिमा चिसो स्याँठ र सिमसिम परिरहेको तुषारोले जनजीवन प्रभावित भएको छ । वर्षा झैँ परेको तुषारोले सडक, आँगन र करेसाबारी छ्याप्पै भिजाएको छ । सधैँ सवारीको चाप रहेने बर्दीबासस्थित पूर्वपश्चिम र बिपी राजमार्गमा पनि फाट्टफुट्ट मात्र सवारी चलेका छन् । सडकमा पैदल यात्री पनि पातलिएका छन् । बर्दीबासस्थित बुधबारको बिहानी हाटमा पनि चहलपहल घटेको छ । बिहानको १० बज्न लाग्दासम्म अधिकांश पसलका सटर खुलेको देखिँदैन थिए ।
मधेश प्र्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजीव झाका अनुसार शीतलहरका बेला शरीरमा आवश्यक तापव्रmम घटेर ‘हाइपोथरमिया’ को डर हुन्छ । ‘हाइपोथरमिया’ हुन नदिन बिनाकाम घरबाहिर ननिस्किने, शरीर न्यानो राख्ने र खानपानमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ । अकस्मात चिसो बढेपछि चिसो बढ्न थालेपछि केही संस्थाले विपन्न तथा वञ्चेतीकरणमा परेका समुदायमा न्यानो अभियान सुरु गर्न थालेका छन् । बर्दीबासस्थित ‘सबैका लागि हामी’ नामक संस्थाले बर्दीबास–१२ स्थित चल्की बिजलपुरा र जुडी टोलका अति विपन्न ५० परिवारलाई न्यानो अभियान अन्तर्गत ६५ हजार मूल्य बराबरको फाइबर सिरक वितरण गरेको छ ।
‘सबैका लागि हामी’ संस्थाका सदस्य रोमन निरौलाका अनुसार न्यानो अभियान देश विदेशमा रहनुभएका सहयोगी हातबाट प्राप्त दानदातव्यबाट सञ्चालन गरिएको हो । शीतलहरको प्रकोप बढ्दै गए न्यानो अभियान अन्तर्गत नगर क्षेत्रको विभिन्न वडामा रहेका परिवारलाई फाइबर सिरक वितरण गर्ने तयारीमा रहेको निरौलाले जनाउनुभयो ।
स्थानीय तहले शीतलहर व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । बर्दीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जाडो बढी हाले नगरपालिकाले डिभिजन वनसँग सहकार्य गरेर दाउरा वितरण र सार्वजनिक ठाउँमा घुर बाल्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
महोत्तरीलगायतका जिल्लामा पुस अन्तिम साताबाट सुरु भएको शीतलहर कतिन्जेल लम्बिने स्पष्ट छैन । मौसमविद् धर्मराज उप्रेतीका अनुसार नेपालको मधेश प्रदेशलगायत सम्पूर्ण तराई क्षेत्रमा आगामी दुई/तीन दिनसम्म शीतलहरको अवस्था रहने छ । नेपाली सिमासँग जोडिएको भारतको विहार र उत्तर प्रदेशको अवस्था हेर्दा यो लम्बिन पनि सक्छ । छिमेकी विहार, उत्तर प्रदेश, दिल्ली र पञ्जाबलाई त्यहाँका प्रान्तीय सरकारले शीतलहर घोषणा गरिसकेका छन् ।
गौर समाचारदाता सञ्जयकुमार मिश्रका अनुसार गत दुई दिनदेखि दिनरात लाग्ने बाक्लो कुहिरोसँगै शीत वर्षाले बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । अत्यधिक चिसोका कारण गौर नगरपालिका, दुर्गाभगवती गाउँपालिकालगायत आधा दर्जन स्थानीय निकायले पालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । अत्यधिक चिसोबाट बालबालिकाको स्वास्थ्यमा नाकारात्मक असर पर्न सक्ने बढी सम्भावना रहेकाले गौर नपा क्षेत्रका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको नगरप्रमुख शम्भु साहले बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले चिसोबाट जोगाउन ठाउँ ठाउँमा आगो ताप्न दाउराको व्यवस्था मिलाउने तथा गरिब असहाय तथा आवश्यक व्यक्तिलाई पहिचान गरी मन्डी बाँड्ने निर्णय भई सोही अनुरूप कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
वन कार्यालयले बाँड्यो दाउरा
सर्लाही समाचारदाता जनार्दन खत्रीका अनुसार शीतलहरले जनजीवन अत्यन्त प्रभावित बनेपछि सर्लाहीमा डिभिजन वन कार्यालयले बिहीबारदेखि दाउरा (मुढा) वितरण गर्न सुरु गरेको छ । आम मानिस कठ्याङ्ग्रिने गरी चिसो बढेसँगै जिल्लाका विभिन्न ठाउँमा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले जानकारी दिनुभयो ।
वन कार्यालयको ट्याक्टरले विभिन्न स्थानमा लगेर सबैले आगो ताप्न मिल्ने गरी ठुलठुला काठका ठुटा, मुढा खसाल्ने काम गरेको छ । अत्यावश्यक काम परेर चोक, बजारमा निस्कने व्यक्ति तथा मानिसको भिडभाड हुने कार्यालय, अस्पताल, कारागार र गरिब बस्तीलाई न्यानो प्रदान गर्ने उद्देश्यसहित दाउरा वितरण गरिएको डिभिजन वन प्रमुख झाले बताउनुभएको छ । वन कार्यालयले स्थानीय तहलाई समेत न्यून शुल्कमा दाउरा लगेर सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउन सक्ने जनाएको छ । स्थानीय तहले वनबाट दाउरा लगेर आगो ताप्ने व्यवस्था मिलाउन भने चासो देखाएका छैनन् । सर्लाहीसहित तराई क्षेत्रमा बुधबारदेखि घाम लाग्न सकेको छैन । निरन्तर शीतलहर परेर बाहिर निस्कनै मुस्किल परेको स्थानीयको भनाइ छ । अघिल्ला दिनमा दिउँसोपख घाम देखा पर्ने गरेको भए पनि बुधबारदेखि भने निरन्तर शीतलहर चलेर बाहिर निस्कँदा शीतले भिजिने अवस्था रहेको छ । शीतलहरका कारण मानिससँगै पशुचौपाया र पन्छीसमेत प्रभावित बनेका छन् । शीतलहरका कारण मानिसको दैनिकी नै प्रभावित बन्न पुगेको छ ।