• २५ पुस २०८१, बिहिबार

चालु आवको त्रैमासिक आर्थिक वृद्धि ३.४ प्रतिशत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक असरले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आव २०८१/८२ का लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । 

चालु आवको पहिलो त्रैमासमा विद्युत् तथा ग्याससँग सम्बन्धित व्रिmयाकलापको वृद्धि सबैभन्दा धेरै २१.४ प्रतिशत छ । यातायात तथा गोदाम क्षेत्रको ६.७ प्रतिशत योगदान छ ।

पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र ६.३, वित्तीय तथा बिमा क्षेत्र ५.७, प्रशासनिक सहयोगी सेवा क्षेत्र ५.४ र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले नकारात्मक छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य आर्थिक वृद्धि दर ३.० प्रतिशत हुने अनुमान छ । धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल वृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । 

समयमा मलको उपलब्धता, उन्नत बिउको प्रयोग तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढीपहिरोका कारण कृषि क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेको हो । अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । 

कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारण व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धि २.३, शिक्षा क्षेत्र ०.४, स्वास्थ्य क्षेत्र ४.१ र घरजग्गा कारोबार क्षेत्र ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।