काठमाडौं, पुस २४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नुभएको छ । बुधबारदेखि तीन दिनसम्म सप्तरीको चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नुहुनेछ।
पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रीय, पालिका र वडास्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता छ ।
पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यसलगत्तै पुस २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौंदेखि देशव्यापी हरेक पालिका र वडास्तरसम्मै सङ्गठन विस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा होमिएका छन् ।