• २५ पुस २०८१, बिहिबार

पूर्वी सीमाबाट ऐतिहासिक निसान पदयात्रा सुरु

blog

निसान पदयात्राको शुभारम्भमा इलाम नगरपालिका प्रमुख केदार थापालाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, पुस २४ गते । इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि निसान पदयात्रा सुरु भएको छ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्र मेचीबजार तीन ब्लकबाट पदयात्रा सुरु गरिएको हो । 

आज सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले इलाम नगरपालिका प्रमुख केदार थापालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो । पदयात्रा पूर्वी सीमाबाट सुरु भएर पुस २६ गते इलाम नगरपालिकामा समापन हुनेछ । 

नेपाल एकीकरणताका तात्कालिन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौलीसन्धीपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर तयार गरिएको निसान पदमार्गमा पदयात्रा आयोजना गरिएको हो । 

पूर्वी सिमानाबाट हिँडेको पदयात्रा आज बेलुका करफोकको पूर्णैडाँडा आइपुग्ने छ । भोलि पूर्णैडाँडामा औपचारिक उद्घाटन गरेर नामसालिङको हात्तीटारसम्म आउने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । 

२६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित मास्थानमा आएर समापन हुने प्रवक्ता दुलालले बताउनुभयो । 

पदयात्रामा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी लगायत करिब एक सय जना रहेको बताइएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेला पूर्वी सिमाना टिस्टा नजिक नागरिगडीबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माथानमा ल्याइएको इतिहास रहेको छ । निसान पदमार्ग करिब ४२ किलोमिटर रहेको छ ।