• २५ पुस २०८१, बिहिबार

महोत्तरीमा शीतलहर, जनजीवन प्रभावित

blog

बाक्लो हुस्सुका कारण बर्दीबास ३ गौरीडाँडास्थित बीपी राजमार्गमा दिउँसै बत्ती बालेर गुडेका सवारी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, पुस २४ गते । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले एकाएक कोल्टे फेरेको छ । मङ्गलवार अपरान्हसम्म २५ देखि १३ डिग्री रहेको यहाँको तापक्रम बुधबारबाट १७ देखि १० डिग्रीको बिचमा झरेको हाे । 

पश्चिमा चिसो स्याँठ र सिमसिम परिरहेको तुसारोले जनजीवन प्रभावित भएको छ । वर्षाझैं परेको तुषारोले सडक, आगन र करेसाबारी छ्याप्पै भिजाएको छ । सधै सवारीको चाप रहने बर्दीबासस्थित पूर्वपश्चिम र बीपी राजमार्गमा पनि फाट्टफुट्ट मात्र सवारी चलेका छन् । 

कठ्याङ्ग्रिने जाडोले गर्दा सडकमा पैदल यात्री पनि पातलिएका छन् । बर्दीबासस्थित बुधबारको बिहानी हाटमा पनि चहलपहल घटेको छ । बिहानीको १० बज्न लाग्दासम्म अधिकांश पसलका सटर खुलेको देखिँदैन  ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजीव झाका अनुसार शीतलहरको बेला शरीरमा आवश्यक तापक्रम घटेर ‘हाइपोथरमिया’ को डर हुन्छ । ‘हाइपोथरमिया’ हुन नदिन बिना काम घरबाहिर ननिस्कने शरीर न्यानो राख्ने र खानपानमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

अकस्मात् चिसो बढेपछि स्थानीय तहहरुले शीतलहर व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । बर्दीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जाडो बढी हाले नगरपालिकाले डिभिजन वनसँग सहकार्य गरेर दाउरा वितरण र सार्वजनिक ठाउँमा घुर बाल्ने व्यवस्था मिलाइएको बताउनुभयो । कतिपय वडाहरुले पनि जोडा बढी हाले विपन्न समुदायमा कम्बल वितरणको तयारी पनि गरेको अधिकारीले बताउनुभयो । 

महोत्तरी लगायतका जिल्लाहरुमा पुस अन्तिम साताबाट सुरु भएको शीतलहर कतिन्जेल लम्बिने हो ? यकिन जानकारी छैन । मौसमविद् धर्मराज उप्रेतीका अनुसार नेपालको मधेश प्रदेशलगायत सम्पूर्ण तराई क्षेत्रमा आगामी २–३ दिनसम्म शीतलहरको अवस्था रहनेछ । नेपाली सीमासँग जाेडिएको भारतको विहार र उत्तर प्रदेशको अवस्था हेर्दा यो लम्बिन पनि सक्छ । छिमेकी विहार, उत्तर प्रदेश, दिल्ली र पञ्जाबमा त्यहाँका प्रान्तीय सरकारले शीतलहर घोषणा गरिसकेका छन् ।