• २५ पुस २०८१, बिहिबार

नेपाल–भारत संयुक्त सुरक्षा गस्ती

blog

तस्बिर : कपिलवस्तु प्रहरी सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी ।

नारद कोहार

तौलिहवा (कपिलवस्तु), पुस २४ गते  । कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका क्रममा सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी निकासी तथा पैठारी न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण, सीमा अतिक्रमण रोकथाम र सीमास्तम्भको अवस्थाका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफ ल गरिएको छ ।

सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल–भारत दुवै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर र भारतीय सीमा सुरक्षा बल बढनीको टोलीले संयुक्त रूपमा दसगजा क्षेत्रमा सीमा गस्ती गरेको प्रहरी निरीक्षक सुरज खत्रीले बताउनुभयो । टोलीले सीमास्तम्भ सङ्ख्या ५६० देखि ५६५ स्तम्भ सङ्ख्यासम्म संयुक्त सुरक्षा गस्ती गरेको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको नेतृत्वमा ११ जना, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक मीनबहादुर चौधरीको नेतृत्वमा ११ र भारतीय सीमा सुरक्षा बलका तीन जनाको सहभागिता रहेको थियो । सीमा गस्ती नियमित रूपमा सञ्चालन गरिने प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो ।