बुटवल समाचारदाता
बुटवल, पुस २४ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक दुई हजार चार सयभन्दा बढी सवारी दुर्घटना हुँदा छ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न र उद्धारमा उपयोगी हुने गरी रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, रोटरी क्लब अफ क्यापिटल बुटवल र सुरक्षित यात्रा अभियान नेपालको पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई हाइड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको छ । हाइड्रोलिक मेटल कटर दुर्घटनामा परेका सवारीसाधन काट्न प्रयोग गरिन्छ । दुर्घटनामा परेका सवारीसाधन उपकरणको अभावमा राजमार्गमै थन्किँदा दुर्घटनाको जोखिम निम्त्याउने भएकाले दुर्घटना रोक्न यो मेटल कटर प्रभावकारी हुने बताइएको छ । उक्त मेटल कटर १२ लाख रुपियाँमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रोटरी डिस्ट्रिक सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्सालले सामाजिक कार्य गर्दा समुदायको आवश्यकता र दिगोपनालाई प्राथमिकतामा राख्ने गरेको बताउँदै केही ढिलाइ गरेर भए पनि उपयोगी उपकरण सही निकायमा हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । रोटरीबाट सञ्चालन भएका परियोजनाहरू गुणस्तरका हिसाबले उत्कृष्ट रहेको बताउँदै उहाँले यो मेसिनसँगै थप एउटा सवारीसाधनको आवश्यकता महसुस भएकाले छिट्टै नै त्यसको पनि व्यवस्था गरिने बताउनुभयो ।
उक्त हाइड्रोलिक मेटल कटर सोमबार एक समारोहबिच नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउँदा समाज सुरक्षित हुने बताउँदै प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाँले जिम्मेवार नागरिक, व्यवसायी र समाजको सबै क्षेत्रको सहयोगबाट मात्र दुर्घटनाको ग्राफ घटाउन सकिने बताउँदै सरोकारवाला निकाय मिलेर सचेतना जगाउने कार्यक्रमसमेत गर्न सकेमा दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डेले गत वर्ष रुपन्देहीमा ट्राफिक सचेतनाको बृहत् कार्यक्रम गरिएको बताउँदै महिलाहरूलाई सवारी लेनबारे जानकारी दिने, सचेतना -याली र सुरक्षित हेलमेट वितरण जस्ता निकै प्रभावकारी कार्यक्रम गरिएको बताउनुभयो ।