• २५ पुस २०८१, बिहिबार

‘कुस्ती’ मा नयाँ पहिरनको प्रयोग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते  । कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ को वेशभूषामा आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आइआइएफटीकाबाट सन्नी सुब्बा र ऊर्जा मानन्धर तथा चलचित्रबाट निर्देशक अनिल योञ्जनले मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

चलचित्रमा अभिनेता धीरज मगर र अभिनेतृ मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आइआइएफटीमा अध्ययनरत विद्यार्थीलाई फेसनको माध्यमबाट चलचित्रसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मूर्त रूप दिनेमा विश्वस्त छौँ ।” कलाकारद्वय धीरज र मिरुनाले आइआइएफटीसँग पहिलो पटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँहरूले आफ्नो पहिरनबारे विमर्श गर्दै केही पोसाक ट्रायल पनि गर्नुभयो ।

आइआइएफटी प्रमुख सन्नी सुब्बाले सहकार्यले नयाँ सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फेसन र डिजाइनसम्बन्धी विभिन्न सो गरिरहेका छौँ । तर यस पटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनुहुने छ । यसले चलचित्रमा कलाकारले प्रयोग गर्ने पोसाक र समग्र फेसनमा परिवर्तन ल्याउने छ ।” निर्देशक अनिल र कलाकारद्वय धीरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तव्र्रिmयासमेत गरेका थिए । 

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने चलचित्र एक जोडीको प्रेम कथामा तयार हुने छ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको चलचित्र फागुन पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा छ ।