• २५ पुस २०८१, बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते  । चीनको स्वायत्त क्षेत्र तिब्बतमा मङ्गलबार बिहान गएको ७ म्याग्निच्युडको भूकम्पले जनधनको क्षति पु-याएकोमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । 

विनाशकारी भूकम्पबाट ज्यान गुमाएका नागरिकहरूको परिवारप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । साथै राष्ट्रपति पौडेलले छिमेकी मुलुक चीनको यस दुःखद घडीमा नेपाल र नेपाली जनता चीनको साथमा रहेको प्रस्ट पार्दै ऐक्यबद्धता प्रकट गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले पनि मङ्गलबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा दिनुभएको सन्देशमा चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा भूकम्पमा परी ज्यान गुमाउनुभएको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । यस विपत्तिको समयमा नेपाल छिमेकी मुलुक चीनको साथमा रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।