काठमाडौं, पुस २३ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार जनवादी गणतन्त्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख प्रकट गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनु भएको सन्देशमा चीनका राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नु भएको छ, ‘‘मित्र राष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु । दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु । दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौं । छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।’’