सिराज खान
नेपालगन्ज, पुस २३ गते । बर्दिया जिल्ला अस्पतालमा एकैदिन १४ जना बिरामीको मेजर शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
पाठेघरसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकसहितको १६ जनाको टोलीले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म करिव १० घण्टा लगाएर १४ जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका प्रमुख डा.सुभाष पाण्डेले बताउनुभयो ।
उहाँले पाठेघर खसेका र पाठेघरमा मासु पलाएका १४ जना पीडित बिरामीहरुको विशेषज्ञ चिकित्सकको टोलिले सफलतापूर्वक शल्यक्रिया गरेको बताउनुभयो ।
सीमित स्रोत साधनका बाबजुद एकैदिन १४ जनाको मेजर शल्यक्रिया गरिएको यो अस्पतालमा पहिलो रेकर्ड भएको पनि प्रमुख पाण्डेले बताउनुभयो ।
गुलरिया नगरपालिकाका नौ जना र बारबर्दिया, ठाकुरबाबा तथा राजापुर नगरपालिका एवम् बढैयाताल गाउँपालिकाका एक/एक जना र कैलाली लम्कीचुहाकी एक बिरामीले निःशुल्क शल्यक्रिया सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार १३ जनाको पूर्णरुपमा निःशुल्क र एक जनाको न्यूनतम शुल्क लिएर शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया सेवा लिएका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुहुँदै अस्पताल प्रमुख डा. पाण्डेले दुई तीन दिनमा डिस्चार्ज गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले अस्पतालसँग पर्याप्त जनशक्ति नहुँदा कोहलपुरबाट थप विशेषज्ञ चिकित्सक झिकाएर सेवा प्रदान गरिएको पनि बताउनुभयो ।
१४ जनाको मेजर शल्यक्रियामा कोहलपुरबाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कविता पाण्डे, स्त्रीरोग विशेषज्ञ डा.होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. दिपेन्द्र महासेठलगायत चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी टोलि खटिएको थियो ।
आफ्नै गाउँठाउँमा निःशुल्क शल्यक्रिया सेवा पाएपछि बिरामीहरु खुसी भएका थिए । गुलरिया नगरपालिका–९ की पेपली गोडियाले अस्पतालले निःशुल्क रुपमा शल्यक्रिया सेवा दिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा उपलब्ध औषधी पनि निःशुल्क पाएको बताउनुभयो ।
पाठेघरसम्बन्धी समस्याको निजि अस्पतालमा गएर शल्यक्रिया गराउँदा बिरामीले कम्तीमा ५० हजार रुपियाँ तिर्नुपर्ने अवस्थामा आफ्नै ठाउँको अस्पतालमा यस्तो जटिल समस्याको निःशुल्क रुपमा उपचार पाउँदा खुशी लागेको शल्यक्रिया गराउनु भएका अधिकांशको प्रतिक्रिया थियो ।