लीलाधर वली
घोराही, पुस २३ गते । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त हुनुहुन्छ । लमही नगरपालिका–७ गिधनियास्थित राप्ती नदीले बगर बनाइदिएको करिब डेढ बिघा जमिनमा सखरखण्डको खेती गर्नुभएका यादव माघे सङ्क्रान्तिमा बिक्री गर्नका लागि खन्न थालेको बताउनुहुन्छ ।
माघे सङ्क्रान्तिमा सखरखण्डको महत्वसँगै मूल्य महँगाे हुने भएकाले कामदार लगाएर सखरखण्ड खन्ने काम गरिरहेको यादवले बताउनुभयो । व्यवसायीले मागेको समयमा आफ्नो उत्पादन दिन सके रोपेकै ठाउँबाटै बिक्री हुने गरेको बताउनुहुन्छ । डेढदेखि दुई बिघा जमिनमा सय क्विन्टल सखरखण्ड उत्पादन गर्ने लक्ष्य लिनुभएका यादवले सिजनमा बिक्री गरेर दुई लाख ५० हजारसम्म आम्दानी गर्ने सोच रहेको बताउनुभयो ।
प्रतिकिलो ४५-५० रुपियाँका दरले खेतबारीबाटै सखरखण्ड बिक्री गरिरहनुभएका यादवले सिजनमा ४ लाख बढीको बिक्री गर्ने र सबै खर्च कटाएर दुई लाख बढी बचत गर्ने आशामा हुनुुहुन्छ । बोटमा किरा लागेर गतवर्ष उत्पादन घट्दा डेढ लाख रुपियाँ आम्दानी गर्नुभएका यादवले अहिले राम्रो फल लागेकाले आम्दानी बढ्ने भन्दै भन्नुभयो, "गएको वर्ष बोटमा किरा लाग्दा राम्रो उत्पादन हुन सकेन । अहिले राम्रो फल लागेको छ, उत्पादन बढ्ने आशा छ ।" परिवारको मुख्य आम्दानीको श्रोत भएको भन्दै यादवले समयमै उत्पादन तयार गर्न सके सखरखण्ड घोराही, तुलसीपुरका व्यवसायी खेतबारीमै आएर लाग्ने गरेको बताउनुहुन्छ ।
यादव जस्तै लमही नगरपालिका–७ गिधनिया निवासी गीता चौधरीले दुई बिघा जग्गामा व्यावसायिक सखरखण्ड खेती गर्नुभएको छ । अन्य कृषिबालीको तुलनामा कम मेहनतमै बढी आम्दानी हुने र बिक्रीका लागि समस्या नहुने भएकाले सखरखण्डको खेतीमा लागेको भन्दै चौधरीले करिब दुई लाख मुल्य बराबरको बिक्री भइरहेको बताउनुभयो । चौधरीले नेपालगञ्जको व्यवसायीलाई सखरखण्ड बिक्री गरेको बताउनुभयो ।
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा घोराही, तुलसीपुरका व्यवसायीहरुसँगै जिल्ला बाहिरका व्यवसायी खरिदका लागि गाउँमै आउने भएकाले बिक्रीमा समस्या नभएको बताउनुभयो । अहिलेसम्म सखरखण्डको बिक्री समस्या नभएको भन्दै चौधरीले भन्नुभयो, "दाङमा धेरै खेती नहुने भएकाले पनि होला बिक्रीमा समस्या हुँदैन । तर थोरै खेतीबाट पनि धेरै आम्दानी भइरहेको छ ।"
तीन जनाको सानो परिवारका कारण आफुले खेतवारी जोत्नेदेखि उत्पादन लिनेसम्म कामदार लगाएर सखरखण्ड खेती गर्ने सवै कटाएर पनि एकदेखि डेढ लाख रुपियाँसम्म बचत गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार करिव ७० देखि ८०-९० क्वीन्टल बिक्री गर्ने गरेको बताउनुहुन्छ । चौधरीका अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकाका करिव ४०-५० घरपरिवारले सखरखण्ड गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार किसानले सिजनमा कम्तीमा एक लाखदेखि चारपाँच लाखसम्म आम्दानी लिने गरेका छन् ।
छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएकाले देउखुरी क्षेत्रका किसान सखरखण्ड खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने बताउनुहुन्छ । खासगरी माघे सङ्क्रान्तिमा तराईसँगै पहाडी जिल्लाहरुमा माग हुने भएकाले जिल्लाको उत्पादन बाहिरी जिल्लाहरुमा जाने गरेको बताउनुहुन्छ । उहाँका अनुसार किसानले साउनदेखि भदौ महिनाको पहिलो सातासम्म रोप्ने र पुसमा आम्दानी लिने गर्दछन् ।