काठमाडौं, पुस २३ गते । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्न नहुने बताउनुभएको छ ।
मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो । उहाँले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धिहरु हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गर्नुभयो ।
‘‘हामी संविधानको १० औं वर्षमा प्रवेश गरेका छौँ । यस बिचमा केही महत्त्वपूर्ण उपलब्धि भएका छन् । मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरुले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला ।,’’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘‘तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहर भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत् समस्याहरु छन् ।’’
मुलुकमा यावत् समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बिचमा ठुलो खाडल रहेको बताउनुभयो । संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उहाँको भनाइ छ ।
‘‘क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबिचमा ठुलो ग्याप छ । हामी समाधान कहाँ खोजिरहेका छौं भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबैकुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरुको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरु पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ ।,’’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘‘कति संविधानका अन्तरनिहित कमजोरीका कारणले आजको समस्या आएको छ । कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरु, संस्थाहरु र हाम्रा प्रवृत्तिहरुले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधन संशोधन सबै चिजको समाधान हुन सक्दैन ।’’
उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसद्को स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुको सङ्गति ? भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुभयो । संविधान आफैँमा गतिशिल दस्ताबेज भएको जानकारी दिनुभयो । संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताउनुभयो ।