गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । क्लासिक ग्यालरी र विभिन्न विद्यालयको सहयोगमा राजधानीमा छब्बिस जना बालबालिकाको सामूहिक चित्रकला प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा कक्षा १ देखि प्लस टुसम्म अध्ययनरत बालबालिकाको चित्रकला राखिएको छ । क्लासिक ग्यालरीका संस्थापक सरिता डङ्गोलले बालबालिकाले सिर्जना गरेका चित्रकला प्रकृति, जनजीवनमा आधारित रहेको जानकारी दिनुभयो । चित्रकलामा रुचि राख्ने २६ जना बालबालिकाले तयार गरेका चित्रकलामा मूर्त र अर्मूत भावका चित्रकलासहित बिरालो, कुखुरा, जङ्गली जनावर, रङ्गीबिरङ्गी पुतली, खोलानाला, चन्द्र सूर्य, समुद्रलगायत ल्यान्डस्केप चित्रकला पनि समावेश छन् ।
कलाकार डङ्गोलले विद्यालयको नियमित अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा रुचि लिँदा उनीहरूमा सिर्जनशीलताको विकास हुने बताउनुभयो ।