• २४ पुस २०८१, बुधबार

सात महिनापछि खुल्यो क्रसरको शिलबन्दी

blog

क्रसर उद्योग । तस्बिर : अर्जन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, पुस २२ गते । भीरकोट नगरपालिका–१ बयरघारीमा भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ । गत १ असारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले क्रसरमा शिलबन्दी गरेको थियो । 

भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएता पनि क्रसर सम्बन्धि कार्यमा अनुमती नलिएको-दर्ता नभएको पाइएको भन्दै क्रसरलाई शिलबन्दी गरिएको थियो । भीरकोटमा सञ्चालित सहरी विकास मन्त्रालयको एक आयोजनाका लागि भनेर २० महिनासम्म निर्माण सामग्री उपलब्ध गराउने गरि अस्थायी अनुमती दिँदै शिलबन्दी खुलाइएको सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिनुभयो । 

सङ्घीय सहरी विकास तथा भवन विकास कार्यालय पोखराले यही पुस ४ गते आफ्नो कार्यालयबाट गत असार ६ गते सम्झौता भएको योजनाका लागि दुई हजार ३०५ घन मिटर ढुङ्गाको काम, १४१ घन मिटर आरसिसी काम, दुई हजार ४३ घन मिटर बेस र तीन हजार १८० घन मिटर सब बेस कामका लागि सामग्री आवश्यक भएकोले इन्जिनियर अच्युत पौडेलले सहजीकरणका लागि नगरपालिकालाई सिफारीस गर्नुभएको थियो । 

सोही पत्रको आधारमा प्रशासन र नगरपालिकाले क्रसरलाई २० महिनको लागि अनुमति दिँदै ताला खोलेको पौडेलले बताउनुभयो । क्रसरबाट ठेक्काको काम बाहेक अन्य ठाउँमा सामाग्री बिक्री वितरण गरेका फेरि शिलबन्दी र कारबाही हुने पौडेलले बताउनुभयो । 

विगतमा अवैध सामग्री बेचेको आरोप लागेको क्रसरका सञ्चालक राम प्रसाल भुसालले सहरी विकास कार्यालयको सिफारीस अनुसारको मात्र माल सामाग्री उत्पादन गर्ने बताउनुभयो । पालिकाको वडा नं –१, २, १, ४ ६ र ८ मा काम गर्ने गरी सहरी विकास कार्यालयबाट ग्रेन्ड–एसके–शिभ जेभीले आठ करोड ५५ लाखमा सभ्झौता गरेर २०८२ फागुन ५ गतेमा सक्ने गरी समझौता गरेको थियो ।