सन्तोष राउत
सोलुखुम्बु, पुस २३ गते । भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा रहेको भवन चिरा परेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पले निकुञ्जको भवनमा क्षति पुर्याएको पुष्टि गर्दै अन्य सम्भावित जोखिमको अनुगमन भइरहेको बताउनुभयो ।
भूकम्पका कारण सोलुखुम्बुको लिखुपिके, देउसा र खुम्बुको थामेमा एक-एक वटा घर तथा खरिखोलामा २ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लिखुपिके गाउँपालिका ४ का कमलकृष्ण कार्कीको ढुङ्गा माटो बनेको घर बस्न नमिल्ने गरी क्षति पुगेको गाउँपालिका उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बुको सीमाना तिब्बतमा केन्द्र बनाएर बिहान ६ः५० बजे गएको शक्तिशाली भूकम्पका कारण जिल्लाको थुलुङ दुधकोशी ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको गारो चर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै, केन्द्रविन्दुबाट नजिक रहेको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको डिएसपी घिमिरेको भनाइ छ । घटनापछि प्रहरी चौकी मुक्ली र थाम्बुचेबाट घटनास्थलमा प्रहरी टोली खटाइएको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउने क्रम रहेको छ । प्रहरी र स्थानीय प्रशासनले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।
भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत सोलुखुम्बु नजिक पर्ने भएकाले भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने आँकलन गरिइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले कुनै अप्रिय घटना भएको जानकारी प्राप्त हुन साथ तत्काल परिचालन हुने गरी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट उद्दारका सामग्रीसहित प्रहरी टोली तयारी अवस्थामा रहेको र सोलुखुम्बु जिल्लाको कुनै पनि किसिमको घटना भएको भए जानकारी भएर प्रहरी सेवाको आवश्यकता परे तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।