• २४ पुस २०८१, बुधबार

आर्यावलोकितेश्वरको महास्नान (फोटो फिचर)

blog

सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरलाई महास्नान गराइँदै । तस्बिर :मनोजरत्न शाही

काठमाडौँ, पुस २३ गते। मंगलबार सेतो मच्छिन्द्रनाथ आर्यावलोकितेश्वरको महास्नान सम्पन्न भएको छ।काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरेरमहास्नान गराइएको हो ।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान हुन्छ।अघिल्लो दिन सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा छ।

महास्नानको लागि ढल्कोस्थित निर्मल तीर्थबाट कलशार्चन पूजा गरी त्यहाँबाट विभिन्न पाठ–स्तोत्र पढ्दै जल ल्याउने गरिन्छ।महास्नानको समयमा जिवितदेवीले अवलोकन गर्न आउने परम्परा छ ।

९ वटा कलशमा जल लिएर फर्कँदा, ठाउँ–ठाउँमा पराल जम्मा गरी आगो तपाउने चलन पनि रहेको छ।यसरी आगो किन बालिन्छ भन्ने कुरामा यकिन तथ्य नभए तापनि, तत्कालीन समयमा नदीबाट फर्किदा चिसो हुने तथा रातको समय भएकोले जनावरहरू आउन सक्ने हुनाले ठाउँ– ठाउँमा परालको मुस्लो बाली ठुलो आगो बाल्ने गरेको जनश्रुति रहेको छ।

महास्नान पश्चात् सेतो मछिन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपेर अर्कै स्थानमा राखिन्छ र रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ। 

बुधबारदेखि पुन लोकेश्वरको मूर्तिलाई साजसज्जा गरिन्छ भने आउँदो पूर्णिमाको दिनमा दशकर्म विधि गरेर पुनः मन्दिरमा आर्यावतिलोकेश्वरलाई प्रतिस्थापन गरिन्छ।यो महास्नानको कुमारीले अवलोकन गर्ने चलन छ।

उपत्यकामा रहेको चार करुणामयमध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृको उद्धार गर्ने देवता तथा सुख शान्ति र रोगव्याधी निको पार्ने देवताको रूपमा पूजा गर्ने चलन छ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।