• २४ पुस २०८१, बुधबार

८६ प्रतिशत शिक्षक ‘पढ पढ..’ विधिमै केन्द्रित

blog

दशरथचन्द नगरपालिका–२, देहिमाडौं माविमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा विज्ञ । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, पुस २३ गते । सरकारले सामुदायिक विद्यालयमा स्मार्टबोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, आधुनिक शैक्षिक सामग्री उपलब्ध गराए पनि दशरथचन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षक यी वस्तुको उपयोग गर्नु त परको कुरा सामान्य पाठ योजनासमेत नबनाइ किताबका भरमा विद्यार्थीलाई ‘पढ पढ...’ मात्रै भन्ने गरेको पाइएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको एक महिना लामो अध्ययन, निरीक्षण र परीक्षणका क्रममा दशरथचन्द नगरपालिकाका सामुदायिक विद्यालयमा पढाउने ८६ प्रतिशत शिक्षक अल्छी भेटिएका हुन् । शैक्षिक गुणस्तर परीक्षणमा खटिनुभएका निलकण्ठ रेग्मीले एइई दिने एउटा समुदायिक विद्यालयमा राज्यले वार्षिक दुई करोड रुपियाँ भन्दा बढी लगानी गरे पनि शिक्षक अल्छी भएकै कारण लगानी खेर गइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “लगानीको वास्ता गरिएको पाइएन । ८६.३९ प्रतिशत शिक्षक बिना कुनै पाठयोजना कक्षामा छिरेर विद्यार्थीलाई 'पढ पढ...' मात्रै भन्ने गरेको देखियो । त्यस्ता शिक्षकले विद्यार्थीलाई प्रोत्साहन पनि दिने गरेका छैनन् । एउटा कुनामा विद्यार्थी उभिएको छ, शिक्षक अर्को कुनामा गएर अर्कै विषयमा कुरा गरिरहेको छ । दशरथचन्दका ५४ प्रतिशत शिक्षकले त विद्यार्थीलाई प्रोत्साहनका लागि धन्यवादसम्म दिने गरेका छैनन् ।” 

दशरथचन्द नगरपालिकामा एसइई परीक्षाको नतिजा निरन्तर ओरालो लाग्ने धेरै कारण मध्ये समयानुकुल शिक्षण विधि नभएको गुस्तर परीक्षण केन्द्रका विज्ञले बताएका छन् । दशरथचन्दको शैक्षिक गुणस्तर परीक्षणमै खटिनु भएका अर्का विज्ञ कृष्णप्रसाद सुवेदीले एसइई परीक्षामा सहभागी हुने दशरथचन्दका ४.५४ प्रतिशत विद्यालयले मात्रै आइसिटीको प्रयोग गर्दै आइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आजको दुनियाँमा ९५ प्रतिशत आइसिटी कक्षा हुनु त कता हो कता दैनिक पाठयोजना बनाएर पढाउने शिक्षकको सङ्ख्या जम्मा १३ प्रतिशत मात्रै छ । एसइईको नतिजा कसरी राम्रो आउँछ ? लाखौंका कम्युटर, स्मार्टबोर्ड थन्क्याएर राखेको छ । फर्निचर हुँदाहुँदै विद्यार्थीलाई चौरमा बसालेर घुँडामा कापी राख्न लगाएर परीक्षामा सहभागी गराइएको छ ।”

दशरथचन्दका विद्यालयको शैक्षिक गुणस्तर लगानी अनुसार निकै कमजोर देखिएको अर्का विज्ञ यामनारायण घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले प्रविधिमैत्री कक्षा कोठाका लागि लाखौं रुपियाँ लगानी गरेको छ । त्यसको उपयोग भएको  छैन । दशरथचन्दका विद्यालयमा सूचना प्रविधि थन्क्याएर चक डस्टरको भरमा अध्यापन गराउने शिक्षक ६८.१८ प्रतिशत रहेका छन् ।” उहाँले दशरथचन्द नगरपालिकाका माध्यमिक विद्यालयको विभिन्न कोणबाट एक महिनासम्म स्थलगत अध्ययन गरेकाले त्यसको प्रतिवेदन यही पुस २५ गते नगरपालिकालाई बुझाउने तयारी गरेको बताउनुभयो ।  

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत मङ्सिर २६ गतेबाट एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्त परीक्षण सुरु गरेको थियो । गुणस्तर परीक्षणका लागि २१ जना विज्ञ खटिएका छन् । टोलीको विज्ञमा शिक्षा क्षेत्रमा लामो समय काम गरि सेवा निवृत्त हुनु भएको सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक छन् । 

विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभाव र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षणको काम सम्पन्न गर्दै छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरिका करिब छ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ । देशभरिका अधिकांश विद्यालयले ४० देखि ७० प्रतिशत अङ्क भन्दामाथि ल्याउन सकेनन् । राम्रो विद्यालय औलामा गन्न सकिने अवस्था देखिएको छ । प्रारम्भिक जानकारी अनुसार बैतडीको दशरथचन्द नगरपालिका विद्यालयको शैक्षिक अवस्था निकै कमजोर देखिएको विज्ञले बताएका छन् ।