काठमाडौँ, पुस २१ गते । नवौँ संस्करणको झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ ।
नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा हुने दौडमा महिला र पुरुषका सात स्पर्धामा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दौडमा पुरुष र महिलाको खुला १३.५ किमी दौड, सोही दूरीको स्थानीय खुला दौड, १६ वर्ष मुनिको खुला र स्थानीय ४.५ किमी, ४५ वर्ष माथिको भेट्रान १३.३ किमी, स्थानीय आमाहरूको ४.५ किमी र स्थानीय वृद्ध पुरुष र महिलाको वाक एन्ड टक स्पर्धा समावेश गरिएको छ ।
१३.५ किमी दौडको विजेतालाई २० हजार, उपविजेतालाई १३ हजार तीन सय र तेस्रो हुनेलाई ६ हजार ६ सय रुपियाँ प्रदान गरिनेछ । अन्य विधाको विजेतालाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजक बेलकोटगढी नगरपालिकाका वडानं.–५ का अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो ।
दौडलाई एथलेटिक्स परिवार नेपालले प्राविधिक सहयोग गर्नेछ । नेपालको एथलेटिक्स क्षेत्रमा झिल्टुङ्ग दौडलाई मौलिक खेल प्रतियोगिताको रूपमा स्थापित गर्न लागिएको आयोजकले जनाएको छ ।