• २३ पुस २०८१, मङ्गलबार

खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक

blog

जिल्लालाई खोरेत मुक्त बनाउन पॉचथरको फिदिममा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस २१ गते । जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दूध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दूधजन्य वस्तुको बिक्री बापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाको जोड थियो ।

"पाँचथर जिल्ला दूध र मासुमा आत्मनिर्भर छ यति हुँदाहुँदै पनि खुला सीमा पशु चौपायाको सहज आवागमन लगायत विभिन्न कारण खोरेत सहित विभिन्न किसिमका रोग र महामारी फैलिने खतरासँगै दूध र मासुजन्य उत्पादनको बिक्री र बिक्रीबाट प्राप्त हुने मूल्यमा प्रभाव परिरहेको छ," पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गङ्गाराम यादवले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो ।

यहाँ उत्पादित घिउ, छुर्पी र चीज जस्ता दूधजन्य उत्पादन विश्व बजारमा पुर्‍याउन गुणस्तर परीक्षण अनिवार्य गरिन्छ । डाक्टर यादवका अनुसार नेपाल विश्व स्वास्थ्य सङ्गठन पशु चौपायामा लाग्ने रोग र महामारीको खतराका सूचीमा रहेकाले यहॉको उत्पादन निर्यातमा समस्या भइरहेको छ । 

पशु चौपायालाई रोगमुक्त गर्न सरकारले खोप लगाउनेसँगै विभिन्न किसिमका अभियान सञ्चालन गर्न लागेकाले किसान, जनप्रतिनिधि, तीन तहकै सरकारका निकाय र सरोकारवाला एकजुट भएर अघि बढ्न ऐक्यबद्वता जनाएका हुन् ।

कार्यक्रममा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र खड्काले रैथाने चरुवा डुलुवा पशुसँगै तराइ तिर बिक्री गर्न सङ्खुवासभा र तेह्रथुम रुटबाट ल्याइने पशु चौपायाका कारण पनि रोग महामारी सर्ने खतरा रहेकाले त्यसतर्फ सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले सीमावर्ती क्षेत्र समूहसमूह भएर चर्ने चौंरी गोठमा महामारी फैलिए त्यसले विकराल रूप लिन सक्ने भन्दै त्यसतर्फ ध्यान जानुपर्ने सुझाव राख्नुभयो ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पाँचथर जिल्लाका नागरिकको आम्दानीको स्रोत मध्ये एक पशुपालन पनि भएकाले पशु चौपायामा लाग्ने रोग र महामारी नियन्त्रणका लागि स्थानीय निकाय, भेटेरिनरी अस्पताल, सरोकारवाला र किसानले खोरेत नियन्त्रणका लागि एकिकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति पॉचथरका प्रमुख रामराज आङदेम्बेले जिल्लालाई खोरेत मुक्त बनाउन पशु स्वास्थ्यकर्मी,जनप्रतिनिधि र किसान सहितका सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित पशु स्वास्थ्यकर्मीहरूले हाल उपलब्ध पशु प्राविधिकको सङ्ख्या थोरै मात्रै रहेकाले एउटा वडामा कम्तीमा एक जना प्राविधिक नियुक्ती गर्नुपर्ने र क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा सहभागी सबै सरोकारवाला खोरेत रोग नियन्णका लागि पाँचथर जिल्लालाई ‘जोन’का रूपमा अगाडी बढाउन सरोकारवालाहरू एकमत भएका हुन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले आयोजना गरेको अन्तरक्रियामा डाक्टर रामनारायण साहले अध्यक्षता र पशु विकास अधिकृत निरजकुमार भट्टराईले सहजीकरण गर्नुभएको थियोे  ।