बुलबुले समाचारदाता
सुर्खेत, पुस २१ गते । कर्णाली प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा औषधालयलाई जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गरेर अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
नागरिकलाई निरोगी बनाउन स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रवर्धन गर्न आयुर्वेद सेवालाई प्रभावकारी बनाउन लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ दरबन्दी र भौतिक संरचना निर्माण गरेर औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताउनुभयो ।
प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् । सरकारले सेवा प्रभावकारी बनाउन आवश्यक संरचना निर्माणको कामसमेत गरिरहेको छ । दरबन्दी थप र आवश्यक पूर्वाधार निर्माण गरेर औषधालयलाई आयुर्वेद केन्द्रका रूपमा विकास गर्न लागिएको औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार एकीकृत रूपमा आयुर्वेद सेवा दिन लागिएको छ ।
आयुर्वेद चिकित्सा सेवा, आयुर्वेद उपचार कार्य, वैकल्पिक उपचार र आयुर्वेद औषधी उत्पादनको काम एकै ठाउँबाट सुरु गर्न लागिएको हो । अहिले आयुर्वेद औषधालय सुर्खेतबाट उपचार सेवा मात्र प्रवाह भइरहेको छ । थप सेवा विस्तार गरेर आयुर्वेद केन्द्रका रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
भवन निर्माण सुस्त
आयुर्वेद औषधालयको भवन निर्माण निकै सुस्त छ । निर्माण कम्पनीको लापर्बाहीका कारण काममा ढिलासुस्ती भइरहेको हो । थपिएको म्याद सकिन लाग्दा पनि ४० प्रतिशत काम मात्र भएको छ । २०८० फागुन ३ देखि २०८१ फागुन २९ सम्मका लागि अन्तिम पटक म्याद थपिएको थियो । पटक पटक म्याद थप्दा पनि भवन निर्माणको काम निकै सुस्त भइरहेको छ ।
२०७८ असारबाट निर्माण सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको नौ करोड ७१ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । १५ शøयाको सेवा दिने गरी भवन निर्माणको काम थालिएको थियो । भवन निर्माणको न्यून मात्र काम भएको आयुर्वेद औषधालयका प्रमुख रिजालले बताउनुभयो । निर्माण कम्पनीको लापर्बाहीका कारण समयमा निर्माण हुन नसकेको उहाँको आरोप छ ।
जनशक्ति अभाव
सेवाग्राही बढ्दै गए पनि औषधालयमा जनशक्तिको अभाव देखिएको छ । २६ जनाको स्थायी दरबन्दी छ । हाल १४ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत छन् । अझै १२ दरबन्दी रिक्त छ । यो वर्षदेखि सेवा विस्तार गरेर औषधालयलाई औषधालय केन्द्रका रूपमा विकास गर्न लागिएको छ । सोही नीति अनुरूप प्रदेश सरकारले २६ जनाको दरबन्दी कायम गरेको हो ।