• २३ पुस २०८१, मङ्गलबार

उखु बारीबाट इँटा व्यवसायीको शव बरामद

blog

जनार्जन खत्री

सर्लाही, पुस २० गते । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको हत्या भएको खबर छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको प्रहरीको भनाइ छ । 

प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका –९, मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्कनु भएको थियो । घर फर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरीले प्रसाईको खोजी गरिरहेका थिए । शनिबार बिहान हरिवन नगरपालिका –१०, स्थित उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईको शव फेला परेको प्रहरीले जनाएको छ । 

इँटा व्यवसायी प्रसाईको शव फेला परेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलङ्गवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । 

प्रहरीले प्रसाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रसाईकै गाउँका एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ती युवकले प्रसाईको हत्या गरेको स्वीकार गरे पनि नाम सार्वजनिक गर्दा उहाँको परिवार र घरमा हमला हुन सक्ने भन्दै प्रहरीले ती युवकको नाम तत्काललाई गोेप्य राखेको छ । 

प्रहरीले इँटा व्यवसायी प्रसाईको हत्याको घटनासँग जोडिएको विभिन्न सबुत फेला पारेको उल्लेख गरेको छ । प्रारम्भिक अनुसन्धानमा आपसी विवादपछि प्रसाईको हत्या भएको देखिए पनि अपराधमा संलग्न व्यक्ति एक्लै थिए वा अरु पनि संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रसाईको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारका सदस्यले बुझेका छन् ।