• २३ पुस २०८१, मङ्गलबार

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

blog

सिङ्गापुर, पुस २० गते । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन एकाइ निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ ।

ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भन्नुभयो, “र्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।” सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ ।

कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ । इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति-गहन क्षेत्रहरुद्वारा सञ्चालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ ।

सहर–राज्यको बिजुली प्रणालीमा चरम माग आगामी छ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशत सम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बिचमा पुग्ने प्रक्षेपण गरिएको छ । प्यासिफिकलाइट पावर हाइड्रोजन-तयार उत्पादन एकाइ विकास गर्न पेस गरिएका छ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो । रासस/सिन्ह्वा