गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री गुरुङले सहकारीलाई अनुशासित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले केही सहकारी अत्यन्त अनुशासित ढङ्गले सहकारीको उद्देश्य पूरा गरे पनि केही सहकारीहरु सामन्त प्रवृत्ति देखिएको बताउनुभयो । पछिल्लो समय यस्ता अनुशासनहिन र जनताको परिश्रम शोषण गर्ने सहकारीप्रति सरकारले खबरदारी गर्दै आएको छ ।
जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारवाहिको दायरामा ल्याउने, बचतकर्ताको बचत फिर्ता गराउने, अधिकार सम्पन्न सहकारी नियमन प्राधिकरण बनाउने, सहकारी संरक्षण कोष खडा गर्ने लगायतका सहकारीसम्बन्धी सरकारको योजना रहेको मन्त्री गुरुङले बताउनुभयो ।
“हामीले सुरुदेखि नै सहकारीहरु एकीकृत अनुशासनमा राख्नु पर्ने थियो । जसको परिणाम अहिले देखिएकोछ” मन्त्री गुरुङले भन्नुभयो, “सुशासनका आयामहरु अपनाएर विकासको गति अघि बढाउने सरकारको लक्ष्य रहेको छ । मुलुकमा सुशासन कायम हुँदा देशको पुँजीगत खर्चमा वृद्धि हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ । विकासमा गतिशीलता आउँछ ।”