• २२ पुस २०८१, सोमबार

मडाहामा क्रसर माफियाको रजाइँ, अवैध उत्खनन हुँदा प्रशासन मौन

blog

महोत्तरीको गौशाला नपा ११ स्थित मडाहा खोलामा क्रसर माफियाले अवैध रूपमा उत्खनन गरी थुपारेको गिट्टी बालुवा । तस्विरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, पुस २० गते । महोत्तरीको गौशाला नगरपालिका १० स्थित मडाहा खोलामा क्रसर माफियाले मनपरी उत्खनन गरेका छन् । नगरपालिका मातहतमा रहेका खोलाहरू अहिलेसम्म ठेक्का लागेका छैनन् । तथापि मडाहा खोलामा अहिले क्रसर माफियाको रजाइँ चलेको छ । हुल्याहा समूहको आडमा रातको बिचमा मनलाग्दी खोला उत्खनन गरेको पाइएको छ । 

 अवैध उत्खनन रोक्न घटनास्थल पुगेका वन गस्तीमाथि आक्रमण भएको छ । डिभिजन वन अधिकृत अजय कुमार मिश्रले क्रसर माफियाले पालेका गुन्डा समूहको आक्रमणबाट सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते भएको जनाउनु भयो । वन गस्तीले नियन्त्रणमा लिएका चालक र उत्खननमा संलग्न गाडीहरू पनि समूहले थुतेर लगेको मिश्रले बताउनु भयो । 

नियमित गस्तीका क्रममा बिहान ४ बजेतिर घटना स्थल पुगेको वन कर्मचारीले मडाहा खोला तथा तटवर्ती क्षेत्रमा अवैध रुपमा उत्खनन भइरहेको देखेपछि एउटा एक्स्काभेटर र ५ वटा टिपर नियन्त्रणमा लिएका थिए । 

गस्ती कमान्डर एवं सब डिभिजन वन कार्यालय माइस्थानका वन अधिकृत सिकिन्दर चौधरीकाअनुसार गाडीहरू नियन्त्रणमा लिएपछि त्यसका चालकहरू भागेर खोला पश्चिमतर्फ रहेको जय माँ जालपा ढुङ्गा गिट्टी बालुवा वासिङ सेन्टरबाट पुगेका थिए । त्यहाँबाट लगत्तै १५÷१६ वटा मोटरसाइकलमा आएका गुन्डा समूहले वन कर्मचारीमाथि गाली गलौज र हुल हुज्जत गरेको उहाँले बताउनु भयो । 

चौधरीले भन्नु भयो ‘अरू चालकहरू भागे पनि हामीले ५ थान गाडी र एकजना ट्रिपर चालकलाई नियन्त्रणमा लिएका थियौँ । समूहले बल प्रयोग गरेर ती चालकसहित सबै गाडी थुतेर लगेको थियो । प्रतिकार गर्दा सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते हुनु भएको हो । 

घटनाका तत्कालै जानकारी गराउँदा पनि करिब २ किमी दुरीमा रहेको इलाका प्रहरी कार्यालयबाट धेरै अबेर ३ जना प्रहरी घटनास्थल पुगेका थिए । चौधरीका अनुसार त्यति वेलासम्म गुन्डा समूह भागी सकेका थिए । 

एक त जाडोको रात उसमाथि हुस्सु लागेकोले हुल्याहा समूह कसैलाई पहिचान गर्न नसकेको उहाँले बताउनु भयो । तथापि रातको बिचमा वन गस्तीले उत्खननमा संलग्न गाडीहरूको फोटो खिचेको छ । त्यसमध्ये ४ वटा गाडीको नम्बर मोबाइल क्यामेरामा कैद भएको उहाँले जनाउनु भयो । 

फोटोको आधारमा वा ३ क १११६ नम्बरकाे र तथा प्र २–०३–००१ क ०५९२, प्र २–०३–००१ क ०३९२ र प्र २–०३–००१ क ०५८२ निको गाडीमाथि कारवाही गर्न लागेको उहाँले बताउनु भयो । घटनाको जानकारीपछि जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्णको नेतृत्वमा गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो, डिभिजन वन प्रमुख अजय कुमार मिश्र, इलाका प्रशासन कार्यालय गौशालाका प्रतिनिधि लगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । 

निरीक्षणका क्रममा राती वन गस्तीले नियन्त्रणमा लिएका सबैजसो गाडीहरू माँ जालपा ढुङ्गा गिट्टी बालुवा वासिङ सेन्टरमा फेला परेको जनाइएको छ । 

मडाहा खोलाको तटवर्ति क्षेत्रमा अवैध उत्खनन गरिएका १५० लम्बाइ ३० मिटर चौडाइ र साढे २ मिटर गहिरो खाल्डो भेटिएको छ । कतिपय खाल्डाहरूलाई गिट्टी बालुवा निकालेर पुरिएको अवस्थामा फेला परेको अनुगमन समितिले जनाएको छ । 

डिभिजन वन अधिकृत अजय कुमार मिश्रले भन्नु भयो ‘अनुगमन समितिले अवैध उत्खनन गरिएको खोला बगरबाट ८७३ घन मिटर गिट्टी बालुवासमेत बरामद गरेको छ । प्राप्त प्रतिवेदनहरूको आधारमा कारबाही प्रक्रिया सुरु गरिने छ ।’

चालु आर्थिक वर्ष ०८१-८२ का लागि कतिपय स्थानीय तह ठेक्का प्रक्रियामा गए पनि अहिलेसम्म जिल्लाका कुनै पनि खोला उत्खननका लागि ठेक्का लागेको छैन । 

यसबिच अवैध रुपमा खोला उत्खननको काम भने भइरहेको घटनाक्रमले देखाएका छन् ।