• २२ पुस २०८१, सोमबार

अतृप्त चाहना [कथा]

blog

शिथिल शरीरको व्याकुलतालाई पूर्ण गन्तव्य दिन केही समयदेखि खोलानजिकको पिपल बोटमुनि टोलाइरहन्थे । कहिलेकाहीँ अब बाँच्दिनँ कि जस्तो पनि लाग्थ्यो । मनभित्र अत्यासका रेखा ध्वजा ध्वजा परेको प्रस्ट देखिन्थ्यो । तैपनि एउटा अतृप्त रहरको चाहना गर्थें । प्रायः त्यही खोलानजिक आफ्नो ठेस लागेका घाउलाई स्वस्थ राख्न खोज्थेँ । म परैबाट देख्थेँ, केही प्रेमिल जोडी एकअर्काको स्पर्शमा आनन्दित हुन्थे । कहिलेकाहीँ जीवनलाई स्विकार्दै चुम्बनको नौलो संसारमा हराउँथेँ । एकअर्कालाई सुमसुम्याउँदै आलिङ्गनमा लिप्त न्यानो पल कति प्रिय कति अप्रिय हुन्थे होलान् तर मलाई ती मायालु स्पर्शका पलले खासै त्यतातिर तान्दैनथ्यो । बरु विरहको गीत गुञ्जमान हुन्थ्यो भित्रैबाट । 

आफूभित्र एक किसिमको उकुसमुकुसको भावना थियो कि भन्ने दुबिधा मेरो मनमा निकै लामो समयदेखि नउठेको पनि होइन तर केही समयदेखि उसको प्रतीक्षामा मन आतुर हुँदै छ । पर्खाइ पनि कति छिटो छिटो बित्दो रहेछ, बल्ल म बुझ्दै छु । उसको कल्पनाले मात्रै मन अनन्दित हुन्छ । भेट्ने विचारले मात्र पनि शरीरमा स्फूर्ति बढ्छ । शरीर नै हलुङ्गो हुँदा मन चरा झैँ आकाशमा पखेटा हालेर उडिहाल्छ । आखिर मन न हो सम्पूर्णताको सार । कहिले व्याकुल हुन्छ, कहिले उदास हुन्छ, कहिले एकोहोरिन्छ । घरपरिवारमा कसैलाई थाहा छैन, म भित्र भित्र के सोच्दै छु, म कुन बाटोमा लम्किँदै छु ।

तैपनि किन किन मनभित्रै दोहोरिरहन्छन् विरोधाभासी शब्द । आफैँलाई चिन्तनशील बनाउँदै असम्भव कार्यलाई सम्भव गर्न लागिपरेको छु । बिस्तारै बिस्तारै पाइला अघि बढ्दा मन सन्तुष्ट हुन्छ । म पहिलो पटक भेट्न जाँदै छु उसलाई । उसको अँगालोमा निदाउने, आफ्नो बनाउने भित्री चाहना पूर्ण हुँदा मुहारमा कान्ति छाउँछ । उसको समीप पुग्नै आँटेको थिएँ तर कसैले निकै सुरिएर बाहिर निकाल्यो । मेरा हातगोडा चिसो हिउँ झैँ थिए । केही मानिस के भइरहेको छ, कुरै नबुझेर छक्क परेर मतिर टोलाएर हेरिरहेका थिए । लामै समयसम्म मेरो अगाडि मानिसको भिड टक्क अडियो । 

केही कोमल हृदयका मानिसले नचाहँदानचाहँदै अस्पताल पुर्‍याए । डाक्टरले सामान्य हेरेपछि केही समस्या छ भन्दै जिज्ञासा राखे । टाउको निहुराउँदै, त्यस्तो त खासै केही छैन भन्ने दोधारे उत्तर दिएँ । पौडी खेल्न औधी मन पर्छ, खिसिक्क हुँदै बोलेँ । डाक्टरले केही बोलेनन्, चुपचाप तलदेखि माथिसम्म मलाई नियाले । तपाईंको आफन्तलाई बोलाउनुस्, छिट्टै अनुहारमा बेग्लै रङ पोतियो, उनको थाप्लोमा पनि । पछि केही समयपछि लुसुक्क म त्यहाँबाट पाइला मेट्दै हिँडेँ । लामो अन्तरालपछि फेरि ममा ऊसँग वार्तालाप गर्ने चाहना अत्यधिक बढ्यो । ऊ आइदिए नि हुन्थ्यो नि ! मज्जाले ऊसँग आफ्नै कुरा गरिरहन्थेँ भन्ने लाग्यो ।  

वास्तवमा कुनै दिन ऊ मलाई भेट्न पक्कै आउने छ, उसको उपस्थितिले मेरो मनमा एकाग्र भङ्ग गरिदिन्थ्यो । कस्तो अबुझ होला ऊ, म प्रायः सोच्ने गर्थे, मैले मन पराएको पनि थाहा नपाउने । कस्तो विचित्रको छ ऊ तैपनि असाध्यै मन पर्छ । म सम्झिन्छु जोकोहीले पनि कहाँ उसलाई मन पराउने साहस गर्न सक्छन् र ! उसलाई विश्वास गरेपछि त जीवन नै शान्त र स्वर्गीय हुन्छ । परैबाट आएको देखेपछि म गुडिरहेकै गाडीबाटै अँगालोमा कस्न सडकमै दौडिन्छु तर अकस्मात् फेरि कसैले के गर्न आँटेको हँ, निकै कडा स्वरमा थर्काउँछ । त्यो मानिस चिनेको थिइनँ तैपनि बिच बाटोमै हात पकडिदिन्छन् र फेरि म अलप हुन्छु उसलाई भेट्न । 

हिजो राति जूनको रङ पहेँलोबाट कालो हुँदा छतमाथिबाट नौलो संसारको कल्पना गर्दै थिएँ । ऊ कहिले मेरो अगाडि टुप्लुक्क आउँछ होला म मनमनै सोच्दै थिएँ । त्यति नै बेला कोही रोएको आवाज प्रस्ट सुनियो । म दङ्ग परेँ, ओहो ! ऊ त आएछ मलाई भेट्न । खुट्टा टक्क रोकिए अनि कतिबेला म त्यहाँ पुगेछु पत्तै पाइनँ । 

कठ्याङ्ग्रिँदो चिसोमा घोसे मुन्टो लाएर अस्मिता पो एकोहोरो रोइरहेकी छे । एकछिन त म आफैँ निःशब्द भएँ तर केही समयपछि के भो, किन यसरी रोएकी भनेर प्रश्न गरेँ । मलाई देखेर एकछिन त ऊ डराई । केही अत्तालिए झैँ बोल्दै थिई, “केही होइन, केही होइन ।” त्यसपछि निकै बेरसम्म ऊ केही बोलिन । मैले बुझ्नै सकिनँ, वर्तमान परिस्थितिमा के भयो भनेर प्रश्न उब्जाएँ । साह्रै अप्ठ्यारो माने जस्तो लाग्यो । नजिकै गएर हात सुमसुम्याउँदै बोलेँ, “म तेरो क्याम्पसको गुरुआमा मात्र होइन नि, तेरी सानिमा पनि त हो ।” मैले त्यति मात्र के शब्द पोखेको थिएँ, ऊ त मलाई अँगालो हालेर हुँक्क हुँक्क गर्न थाली ।

मुहारमा चिन्ता प्रस्ट झल्किन्थ्यो । भित्रैबाट मन गले जस्तो लाग्यो । पछि लामै समयपछि वातावरण शान्त भयो । उसले मलिन स्वरमा भनी, “मन अशान्त हुँदै छ ।” अब के के गर्न सक्छु म, प्रतिशोधको भावनामा ऊ बोली । त्यो कुराको अर्थ केलाउन सकिनँ, फेरि सोधेँ, के भयो र त्यस्तो । अस्ति गोदावरी पार्कमा वनभोज कार्यक्रममा केही साथी नाचिरहेका थिए । केही आआफ्नै समूह र धुनमा रमाइरहेका देखिन्थे । म र अनामिका चौतारीमै बस्यौँ । केही साथी हात समाएर बसेका थियौँ । हाम्रै नजिक आएर बस्नुभयो नरेश सर । एकाएक हात समाउँदै भन्नुभयो, “नाच्न हिँड केटी ।” किन किन अप्ठ्यारो र असहज लाग्यो भित्रैबाट । मन छैन सर भन्दै पछाडि मात्र के सरेको थिएँ, म के देख्छु, सर त बेसरी नाडी समाउँदै तान्दै हुनुहुन्थ्यो आफैँतिर । रिसले म आगो हुँदै गएँ पनि आफैँलाई धैर्य राख्दै विचलित दुबिधामा पनि उभिरहेँ । फेरि मेरो इच्छाविपरीत मलाई तानेपछि म कराएँ । आवेशमा एकाएक मुहार रन्क्यो, ढुकढुकी अत्यधिक बढ्यो । अनि थाहै नपाई मुखबाट निस्कियो चर्को कठोरता, मलाई छुँदै नछो वा छोड्दे । त्यसपछि मनमा डरको, कम्पनको भुइँचालो तीव्र रूपमा गइरह्यो, आफैँलाई असुरक्षित अनुभूति भइरहयो । 

कस्तो असभ्य गुरु, आफ्नै छोरीको उमेरको विद्यार्थीसँग कस्तो तुच्छ व्यवहार । के बोल्ने, के नबोल्ने जान्दाजान्दै केही नभए झैँ गरी बुझ पचाउने । छि ! कस्तो निच चरित्र । गिद्धे अनुहार चिनेपछि थुक्क त्यसको सोच, बोल्दा पनि घिन लागेर आयो । 

सिद्धान्त र विचारको अर्थ बुझाउने दरिद्र मानसिकता बोकेको त्यो क्रूर दानवले अहिलेसम्म मुखुन्डो लाएकै थियो । गिद्धे पहिचान लुकाएकै थियो । “हिजो त डरले क्याम्पस जानै सकिनँ तर बिहानै हेडसरकोमा जान्छु, त्यो गिद्धेको वास्तविकता सबैलाई चिनाउने छु,” अस्मिता चिसो सिरेटोमा मनलाई शान्त पार्दै बोल्दै थिई, “नडराउनु, नबिराउनु ।”

एकाएक मनमा कसैले चसक्क घोचे झैँ लाग्छ । म पनि आफ्नो असरल्ल विगत सम्झिन्छु । लामो समयदेखिको असन्तुष्टिले अवरोध गरेको थियो । उकालीओरालीका बाटा अप्ठ्यारा थिए तर मैले कति सजिलै हार मानेको थिएँ । क्याम्पसबाट शैक्षिक अध्ययनमा मेरो ठाउँमा पुरुष समकालीन साथीलाई पठाएको सूचना पाएपछि एकाएक छुट्टी लिएर घरमै बसेको थिएँ । आफ्नो अधिकारका लागि आवाज नउठाएर, चुपचाप प्रतिवाद नगरी । जसले गर्दा ममा अत्यधिक निराशापन बढेको थियो । हरेक समय मृत्युसँग वार्तालाप गर्थें, मृत्युकै प्रतीक्षामा टोलाउँथेँ, मृत्युकै खोजीमा आफूलाई हराउँथेँ, मृत्युकै समीप पाउँथेँ । कहिले खोलाकै पुलबाट झ्याम्म हामफाल्ने योजना बनाउँथेँ । कहिले गुडेकै गाडीबाट दौडिन्थेँ दौडमा झैँ तैपनि मृत्युले कहिल्यै आफ्नो अँगालोमा बेरेन । जिन्दगीदेखि नै विरक्ति हुनाले सबैदेखि टाढा रहन खोज्थेँ । आफैँमा के भइरहेको छ, मैले बुझ्नै सकिनँ, कसैसित भन्न सकिनँ ।

यस्तो जिन्दगी पनि बाँच्नुपर्ने, पिल्सिएर हाँस्नुपर्ने भन्दै रुँदै, कराउँदै, चिच्याउँदै समय काट्न औधी गाह्रो हुन्थ्यो । मनमा नानाथरीका कुरा खेलाउँदै बस्थेँ । मानसिक पीडाले भित्रभित्रै मुर्मुरिन्थे । मस्तिष्कमा अनेकौँ विचारका ज्वाला भरिँदै जान्थ्यो । आवेशमा हरेक चोटि मृत्युलाई आफ्नो बनाउन अग्रसर हुन्थेँ तर जति कोसिस गरे पनि पाइला सधैँ निराशामै गएर टुङ्गिन्थे । मृत्युको उत्सव मनाउनै पाइनँ । आज एकाएक आँखाबाट मोतीदाना झर्दा हिमाल झैँ सफा, अटल छ मन । मुहार प्रसन्न छ, ओठमा मुस्कान छ । आफ्नो सोचमा परिवर्तनको मिठास भरिदिने अस्मितामा असीम माया छ । 

असहज, एक्लो, निराशा अलिकति पनि महसुस भएन । म मुस्कुराइरहेँ । मनमा शान्तिको दियो झलमल्ल बलिरह्यो । त्यही रात तल कोठाबाट छतको सबै बत्ती बालेर श्रीमान् मेरो नजिक उभिनुभयो । उज्यालो अनुहारमा, उत्सुक आँखामा खुसीका तरङ्ग सधैँ फक्रिएका थिए । 

माधुर्य आवासमा प्यारो मान्छे आफ्नै नजिक पाउँदा मुहारमा घाम लाग्यो । अनि अतृप्त चाहना चुपचाप कहिले नफर्किने बाटोमा लुसुक्क हिँडिरह्यो ।