• २२ पुस २०८१, सोमबार

रहरमा रुमलिएको मान्छे

blog

रहर मान्छेको स्वभाव हो । रहर नहुने मान्छे त कहाँ पाउनु ? उदासीन मान्छेमा त रहर हुन्छ भने आसक्तमा रहर नहुने भन्ने त हुँदै भएन । उदासीन हुन रुचाउनु पनि त रहर नै हो नि, होइन र ? मान्छे सृष्टिको उत्कृष्ट उपमा, जो बोल्न, पढ्न, लेख्न जान्दछ । दोहोरो संवादको भाषा साथमा भिरेको हुन्छ मान्छेले । सृष्टिमा करोडौँ के, अर्बौं अचम्म छन् । सामान्य कुराप्रति त रहर बन्छ भने अचम्मप्रति रहर नबन्ने कुरा नै भएन । 

आमाको पेटबाट बाहिर निस्केदेखि चिताको खरानी नभइन्जेल मान्छेलाई रहरले छाड्ने होइन । आकाशमा घनघोर वर्षा गराउने कालो बादल लागेको देख्दा त्यही बादलको भ¥याङ चढी चाँदीको घेरा छुने रहर बोक्छ मान्छे । रहरका खात छन् मान्छेका मनमा । अझ चित्तमा कति हुँदा हुन् । कति रहर आँगनमा घाम पोखिए झैँ पोखिन्छन्, कति रहरका बिस्कुन सुकाइन्छन् । जीवनयात्रामा रहर कहिले बत्तिन पुग्छ भने कहिले थचारिएर थचिन्छ । उचालिएर उन्मत्त भएको रहर र थचारिएर माटो खाएको दुवै रहर हेर्नलायक हुन्छ । 

रहर आत्मबोधसँग जोडिए हेर्नलायक हुन्छ भने स्वार्थसँग जोडिए लाजमर्दो देखिन्छ । पेटभरि खाए पुग्नेमा हुलुक्क आउने गरी घाँटीसम्म खाने रहर पाल्ने मात्र होइन, प्रयोग गर्ने नै पनि भेटिन्छन् । बाध्यताका रहर पनि नहुने होइन मान्छेमा । आवश्यकतासँग पनि रहर जोडिएको हुने गर्दछ । आफ्नो छाक टार्ने रहर पारिवारिक बाध्यता हो । अर्काको छाक मार्ने रहर सामाजिक अपराध हो । 

मान्छेमा हुने रहरको सीमा छैन । सीमा बिलकुलै हुँदै नभएको पनि होइन । रहर गर्नु र नुनपानी पिउनु एकै हो, दुवै तिर्खालु । लेख्नु पनि त रहर नै हो नि, होइन र ? लेखाइमा चेतना पस्कनु पनि रहर नै हो । लेखाइमा विद्रोह, हिंसा, आक्रोश पोख्नु पनि रहर नै हो । साँच्चै भन्ने हो भने जसको पनि प्रत्येक पाइला रहरमै चालिन्छन् । चाहे ती दुःखका पाइला हुन् वा सुखका । बाघचाल, बुद्धिचाल के रहर होइनन् र ? सोख पनि त रहर नै हो । माम मात्र होइन; काम, दाम, नाम सबै नै रहरका प्रकार हुन् । यसैले रहर सीमाबद्ध छैन भनेँ नि मैले ।

कुनै रहर चिप्लिन्छन् बटुवाले रहर गरेर बाटो हिँड्दै गुदी खाई पदमार्गमा फालेको केराको बोक्रामा चिप्लिए झैँ । कुनै रहर फक्रन्छन् चैतमा आरुका बोटमा लटरम्म फूल फुले झैँ । रहर र उमेर मान्छेका समयमा साथी हुन् । फेरि उम्रँदै तीन पात भन्ने चलन त्यसै कहाँ आयो होला र ? बैँसका रहर फुटेर छ्यालब्याल भई बिजोग भइरहेको हुन्छ कतै । कतै बैँस फक्रेर सहलिइरहेका हुन्छन् । मनको साथी भन्न मन लाग्छ मलाई त रहरलाई । मनसँग दोहरी, जुहारी, सिँगौरी खेल्दै हिँड्छ रहर । अनि यसलाई मनको साथी किन नभन्नु, होइन त ?

रहरको कुरा गर्दा पढेको प्रसङ्ग याद आयो मलाई । आफूलाई शिवले मात्र थाम्न सक्ने, धर्तीले थाम्न नसक्ने भएकीले आकाशबाट शिवको जटामा झर्ने कुरा गङ्गाले भगीरथलाई बताएकी रहिछन् । शिवको जटामा खस्दा शिवलाई पनि साथै बगाएर लाने रहर थियो रे गङ्गालाई । गङ्गा आकाशबाट शिवको जटामा त झरिन् तर गङ्गाको चाल बुझेका शिवले जटाबाट एक थोपो पनि पानी धर्तीमा चुहुन दिएनन् । गङ्गालाई शिवलाई पनि बगाइदिने रहरमा शिवले ढिम्कन नदिने रहर गरे र कैयौँ वर्ष गङ्गा शिव जटामै अलमलिइरहिन् । त्यहाँबाट बाहिर निस्कने अवसर नै प्राप्त भएन उनलाई । शिवको धैर्यअगाडि गङ्गाको फुइँ काम लागेन । रहर भनेको आवेग होइन नि त । निष्ठा नै पो हो त आस्थाको आधार । कतिलाई सुपाच्य नभए पनि कुरो त यही नै सही हो नि । हतारमा कुम्ल्याउन हिँडेकालाई निष्ठा बिस्टा सरह लाग्दो हो । त्यसैले त बिचराहरू थाहा नै नपाई पल पलमा पछारिन्छन् अनि श्राप पाउँछन् साधुहरू । 

काल अजेय छ भन्ने जान्दाजान्दै पनि दानवको पहिलो रहर नै अभय हुने गर्दछ । अरूको कण्ठमाला चुँडाल्न उद्यत हुने रहर बोक्ने मान्छे त पतित भइरहेको हुन्छ । अनि रहरको कुरो गरेर के साध्य ? असीमित चाहनाको पोको हो रहर । मान्छे थाप्लोमा यस्तो भारी बोक्छ । किन बोक्नु थाम्न नसक्ने भारी ? खै को पुग्ला र चितामा राम राम 

जप्दै ? अरूले राम नाम जपिदिएर नहुने । छोराले ए बा, नारायण भन्नुस् न भन्दैमा रहरको खाडलमा जाकिएको बाउ के बौराउँथ्यो र राम नाम जप्न ? छोरोले रहर गरेकै हो नि बाउलाई स्वर्ग पु¥याइदिन । ए बा, यति बिघ्न नकमाउनुस् न, म बिग्रिहाल्छु नि, मैले पनि त काम गर्नु पर्छ भनेर बाउलाई आराम गर भन्ने छोरो कहिले, कहाँ जन्मेला खै ? छोरालाई पनि बाउकै रहरमा पसारिन पाए हाइसन्चो हुने । उसले पनि लुटको धनमा फुपूको श्राद्ध गरिदिउँला नि त भन्ने रहर बनाएकै हुन्छ । 

यो रहर, त्यो रहर गर्दागर्दै मान्छे भड्कन्छ । अरूले ठुला महल बनाएको, आधुनिक गाडी चढेको, सम्पत्ति जोडेको, ठुलो पदमा पुगेको देखेर मेरा छिमेकी आफूले कहिले बस्न पाउने होला राम्रो घरमा भन्ने चिन्ता प्रकट गर्दछन् । यो पनि रहर नै हो । मेरो जुन अवस्था छ, मेरो भाग त्यत्ति मात्र हो भनेर आत्मसन्तोष गर्ने रहर गर्दा जीवनयात्रा कति हलुको, आरामदायी र शान्त हुन्थ्यो होला । यस्तो अनुभव गर्ने रहर भने कसैले राख्दै नराख्ने रहेछ ।

रहरले मान्छेलाई कहिले चन्द्रमा छुन सक्ने बनाइदिन्छ त कहिले बलिराजा धस्सिए झैँ पातालमा धसाइदिन्छ । कालचक्र न हो सबै कुरा । वास्तवमा डरलाग्दो हुन्छ रहर । तैपनि दिन दुई गुना रात चौगुनाको दरले रहर बढ्ने रहेछ मान्छेको । कसैलाई मरेपछि आफ्नो नामबाट सार्वजनिक बिदा गराउने रहर हुने । कसैलाई चितामा उत्तर सिरानी गरिसकेपछि पनि सलामी लिने रहर हुने । कसैलाई आफ्नो सन्तान पेटबाट निस्कन नपाउँदै जर्नेल बनाइदिने रहर हुने । कसैलाई आफ्नो सन्तान जन्मनेबित्तिकै राज्यकोषबाट तलब खुवाउने रहर हुने । कसैलाई सन्तानको नाभि सिंहदरबार जस्ता ठुला महल दरबारमा गाड्ने रहर हुने । रहरले द्रोहसम्म पनि गर्ने रहेछ । आफ्ना अनर्गल, अप्रिय, असामाजिक, अप्राकृतिक, असहिष्णु, अतृप्त रहरले आफैँलाई खँगार्दो रहेछ ।

कसैमा मै खाऊँ, मै लाऊँ, म मात्र ठिक, अरू सबै बेठिक । म मात्र काजी, अरू सबै पाजी प्रवृत्ति अवलम्बन गर्ने रहर हुने । कसैलाई अरूलाई फुटाएर आनन्दित हुने रहर । कसैलाई अरूलाई फसाएर खुसी हुने रहर । कसैलाई अरूलाई धम्काएर हाबी हुने रहर । कसैलाई अरूलाई छक्काएर भ¥याङ चढ्ने रहर । कसैलाई अरूलाई भुरुङ झैँ घुमाएर तमासा हेर्ने रहर । कसैले नदेखेसम्म सम्भोग र देखेमा बलात्कार भनिदिने रहर पनि कसैलाई हुने । कसैको माग्ने जति बटुलेर गौँडा गौँडामा राखी कमाउने रहर । कसैको उम्रिँदै तीन पात भने झैँ छिट्टै उच्च जीवनयापन गर्ने रहर । कसैको छाक टार्न त कसैको सोख पूरा गर्न यौन व्यापार गर्ने रहर । मुसाको सिंह बन्ने रहर, सिंह बनेपछि आफूलाई सिंह बनाइदिनेलाई नै खाइदिने रहर । 

मान्छेलाई धेरै कमाऊँ, अमूल्य वस्तु जम्मा गरूँ, ठुलो धनराशि प्राप्त हुने काम पाइरहूँ, माथिल्लो पदमा पुगिहालूँ, शक्तिशाली हुन पाऊँ भन्ने रहर हुने नै भयो । के यस्ता अनेकौँ रहरले शान्ति मिलेको छ त मान्छेलाई जीवनयात्रामा ? एकफेर धनाढ्यले, शक्तिशालीले, पदासीनले, आफैँले आफूलाई मनितो गर्नेले सोच्ने समय नै नपाएको हो त ? आफूभन्दा कमजोरलाई मद्दत गर्ने कुरामा रहर जति बढ्छ, त्यति नै अन्तरशान्ति बढ्ने हो । चरित्रलाई सुन्दर बनाउने रहर गरेमा घर, समाज र संसार कति शान्त हुने थियो । मान्छेमा आनन्दले सुत्ने पनि रहर हुने गर्छ । त्यो रहर पूरा गर्न पनि मनलाई आनन्द तुल्याउने रहर गर्नु नै पर्छ ।

अरूलाई सकाएर आफू बन्ने रहरले तत्कालको सुख दिए पनि पछि त्यसैले पिरोल्ने नै हो । क्रियाको प्रतिक्रिया त अपरिहार्य यथार्थ हो नि, होइन र ? बटुवालाई सोठ्याएर सलामी खाने रहर के रहर ? संसद् चल्न नदिने, सडक चल्न नदिने रहर के रहर ? प्रतिशोधको रहर के रहर ? अरूको कुभलो चिताएर आफ्नो भलो हुन्छ त ? पक्कै हुँदैन । रहरको मोहमा उत्तौलिएर सुर्रिएको मदहोस मान्छे मात्र यसमा विसम्मत होला । तपाईं त विसम्मत हुनुहुन्न नि ? कसैले आशिष देओस् न स्वर्गमा पनि तपाईंको स्निग्ध मुहार हेर्न पाइयोस् भनेर । त्यस्तो रहर पो रहर । दुःख, पीडा मात्र बढाउने रहर के रहर ? होइन त ?  

Author

डा. विश्वदीप अधिकारी