• २२ पुस २०८१, सोमबार

क्षमताभन्दा बढी कैदी

blog

तम्घास समाचारदाता

तम्घास, पुस २० गते । जिल्ला कारागार गुल्मीमा २५ जनाको क्षमता भएको कारागार छ तर त्यहाँ तीन गुणाभन्दा बढी कैदी बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले १०५ जना कैदीबन्दी रहेका जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदी पुरुष ६९ जना, थुनुवा २९,  महिला कैदी पाँच र थुनुवा दुई गरी १०५ जना कैदीबन्दी छन्  । 

कारागार भवन साँघुरो हुँदा धेरै समस्या भोग्नु परेको र कैदीबन्दीका लागि खेल मैदान तथा आर्थिक उपार्जनका लागि उद्योग पनि अभाव छ । भवन जीर्ण रहेकाले समस्या अझ थपिँदै गएको, हालसम्म दुःखसुख गरी चलाउँदै आएको तर अब गाह्रो हुने देखिएको उहाँले बताउनुभयो । यस्तै कारागारपरिसरमा पानीको समस्या, सेफ्टी ट्याङ्कीको समस्या र सुरक्षा गार्ड भवनको पनि समस्या रहेको उहाँले बताउनुभयो । 

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिनुभयो । कारागारमा पर्याप्त खेल मैदान, उचित वासस्थान र उद्यम गर्नेका लागि उद्योग दर्ता नहुनुका साथै उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उहाँको भनाइ छ । भवन जीर्ण भई कैदीबन्दीलाई समस्या भएकाले समयमै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

विसं २०७७ जेठदेखि कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखि उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उहाँको भनाइ छ ।