गुणबहादुर रोका
सुलीकोट, पुस १९ गते । गोरखा सदरमुकामबाट ५५ कोष टाढा रहेको तिब्बती सीमानजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो बढेसँगै सिङ्गो गाउँका बासिन्दा तलको बेँसीमा झरेका छन् ।
गत शनिबार र आइतबार परेको हिउँले ढाकिएपछि माइनस २० डिग्री तापक्रम झरेकाले पनि सिङ्गो गाउँ नै बेँसी झरेका चुमनुब्री गाउँपालिका –१ का वडा अध्यक्ष कर्मसेबाङ लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुमनुब्री गाउँपालिकाको साम्दोमा ४३ घरधुरी गाउँ नै छाडेर फिलिम, छेकम्पार, गोरखा सदरमुकाम र काठमाडौँ समेत पुगेको उहाँले बताउनुभयो । साम्दोमा भएका ८ वटा होटेलमध्ये ७ वटा होटेल बन्द भइसकेको र एउटा होटेलमा एकजना मात्र काम गर्ने कर्मचारी रहेको होटेल व्यवसायी निमा लामाको भनाइ छ ।
अत्यधिक मात्रामा चिसो बढेसँगै त्यहाँ पुग्ने पर्यटक सङ्ख्या घट्दै जान थालेको छ । साम्दाबोट ३ घण्टा हिडेपछि धर्मशाला होटेल पुगिन्छ धर्मशालाबाट लार्केपास जान्छन् र त्यहीँबाट पर्यटकहरु मनाङ पुग्छन् ।
अहिले अफसिजन भएकाले पनि बिदेशी पर्यटकको सङ्ख्यामा कमी आएको हो । फाट्टफुट्ट रुपमा देखिएका पर्यटकलाई धर्मशाला भन्ने ठाउँमा होटलका एकजना कर्मचारीले होटेल खोलेर पर्यटक एवं गाइडलाई खाना बनाएर र खुवाउने गरेका छन् ।
दिनभरी घोडा चौरी र याक जङ्गलमा छाडेर गए पनि बेलुका गोठमा बाँध्नका लागि एकजना हेरालुले जिम्मा लिएको स्थानीय फाल्टेन लामाले बताउनुभयो । अहिले साम्दोमा एपीएफको आउट बोर्डर पोष्टका सुरक्षाकर्मी, घोडा एक र चौरी हेरालु साथै एकजना होटलका कर्मचारी मात्र भएको बोर्डर आउट पोष्टका प्रमुख धर्म पण्डितले बताउनुभयो ।
जाडो सकिएसँगै सिजनमा पर्यटक भित्रिने समय फागुनको दोस्रो साताबाट मात्र गाउँका मानिसहरु गाउँ फर्कने व्यवसायी निमा लामाले जानकारी दिनुभयो । साम्दोमा १ फिट हिउँ अहिले पनि भएकाले खानेपानी पाइपमा जमेर समस्या भएको सशस्त्र प्रहरी निरीक्षक पण्डितको भनाइ छ ।
अहिले ४३ घरधुरीमा सबै घर परिवारहरु बेँसीमा झरिसकेको तथा सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट रहेका सुरक्षाकर्मी बाहेक गाउँमा कोही नदेखिएका साम्दो आउट बोर्डरपोष्टका सशस्त्र प्रहरी निरीक्षक धर्म पण्डितले बताउनुभयो ।