चरीकोट समाचारदाता
चरीकोट, पुस १९ गते । बागमती प्रदेश सरकारको लगानीमा दोलखामा दुई वटा सडक कालोपत्रे गरिएको छ । भौगोलिक रूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सुनखानी–साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाबिच आवागमन सहज भएको छ ।
त्यसै गरी प्रदेश सरकारकै लगानीमा चरीकोट–देउराली करिब पाँच किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे भएपछि धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको हो । सोही सडक हुँदै देउरालीदेखि कालिञ्चोक पुग्ने बाँकी सडक खण्डको समेत निर्माण धमाधम भइरहेको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत दोलखाका करिब एक दर्जन ठुला सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।
प्रदेश सरकारकै लगानीमा पर्यटकीय स्थल शैलुङ प्रवेश गर्ने मुडे–बाघखोर–कालापानी नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक पनि धमाधम निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताउनुभयो ।
सो सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक–मुडे हुँदै शैलुङ आवतजावत गर्न सहज हुने भएको छ । सडक कालोपत्रे भएपछि शैलुङ गाउँपालिकामा उत्पादन गरिएको तरकारी, फलफूल सहजै बजार पु-याउन सकिने भएसँगै किसान खुसी भएका छन् ।
यस्तै तामाकोशी गाउँपालिकाको भिरकोट हुँदै झुले–छौडे जाने सडक ढलान गर्ने कार्य भइरहेको छ । सिद्धाको थान–जुँगु–झ्याँकु सडकमा स्तरोन्नति भइरहेको छ । दोलखाको दक्षिणी क्षेत्रको मुख्य मार्ग सितली–मेलुङ–माने बुद्धचोक सडक पनि प्रदेशकै लगानीमा निर्माण सम्पन्न भएको छ ।
लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ भने सोही सडकखण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । त्यस्तै जिरी–ठोसे शिवालय सडक कालोपत्रेकोे काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । चालु आवमा नै दोलखामा कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटक पटक ताकिता गरेर निर्माण सुरु गराएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा ग्रामीण क्षेत्रका सडकहरू स्तरोन्नति र ढलान कार्य धमाधम भइरहेको छ ।”
प्रदेश सरकारको लगानीमा सिँगटी–लादुक–बुलुङ सडक निर्माण भइरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले आधा दर्जन सडक बहुवर्षीय आयोजना अघि बढाउने योजना बनाएको छ । त्यसै गरी प्रदेश सरकारकै लगानीमा दुई वटा पुल निर्माण सम्पन्न र बाँकी तीन वटा पुल निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर टङ्क तिवारीले बताउनुभयो ।
गौरीशङ्कर गाउँपालिकामा २५ मिटर लामो तिनेखु पुल र जिरी नगरपालिका–१ मा २५ मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । साथै जिल्लाका विभिन्न स्थानमा २५ मिटर लम्बाइका तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सडकलाई पहिलो प्राथमिकता दिँदै अघि बढेको भन्दै सङ्घीयतापछि जिल्लाबाट गुमेको कार्यालय चालु आवमा नै स्थापना भएको र कार्यालय स्थापनासँगै विकास निर्माणको काममा सहजता भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका लागि प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गर्दै आएको मन्त्री काफ्लेले बताउनुभयो ।