‘हाम्रा शुभचिन्तकले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ, कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रियताको अस्तित्व खतराको सामु नगण्य भन्ठानेर नै यो ऐतिहासिक निर्णय हामीले लिएका हौँ’ २०३३ सालमा भारत निर्वासनबाट फर्किंदै गर्दा बिपी कोइरालाले भन्नुभएको थियो, “नेपाली कांग्रेसका कार्यकर्ताले पनि पार्टी निर्देशन अनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।”
देशमा सङ्कट चुलिँदै जाँदा बिपीले प्रजातन्त्रका खातिर आफ्नो ज्यान दाउमा राखेर लिएको एउटा यही निर्णय अन्ततः प्रजातन्त्र पुनस्र्थापनाको एउटा यस्तो मियो बनिदियो जहाँ सबै शक्ति पञ्चायतविरुद्ध एकजुट भए । भलै बिपीले आफ्नो सपनाको एउटा आयामलाई आफैँले देख्न पाउनु भएन तथापि उहाँका सपनाका डोब अन्ततः प्रजातन्त्र प्राप्तिको त्यो लक्ष्यमा पुगिछाडे ।
लामो समयको निर्वासन त्यागेर गणेशमान सिंहसँग स्वेदश फर्किंदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै बिपीले भन्नुभएको थियो, “हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुका कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।”
आफ्नै ज्यानलाई खतरा छ भन्ने जान्दा जान्दै पनि बिपीले स्वेदश फर्किने निर्णय लिनुभयो । कतिपयले त्यो बेला बिपीलाई ‘मूर्ख’ पनि भने । कतिले वेबकुफीको संज्ञा पनि दिए । त्यो बेला केही पत्रकारले उहाँलाई सोधेका थिए, “नेपाल पुग्दासाथ तपाईंलाई राजाले तपाईंलाई मार्न पनि सक्छन्, किन नेपाल फर्किन चाहनुहुन्छ ?” त्यो प्रश्नको जवाफमा बिपीले भन्नुभएको थियो, “राजा र मेरो घाँटी जोडिएको छ...।” उहाँलाई मूर्खको संज्ञा दिने समाजले यसको यति धेरै गलत अर्थ लगाएर प्रचार गरिदियो कि त्यसले बिपीको मेलमिलाप नीतिलाई नै सङ्कटमा धकेल्न थाल्यो । तैपनि उहाँ आफ्नो नीति र सिद्धान्तबाट ढलमल हुनुभएन । त्यसो भन्नुको अर्थ राजाको निरङ्कुशतालाई वा पञ्चायतलाई आत्मसात् गरेको भन्ने थिएन । ‘घाँटी जोडिएको छ’ भन्नुको अर्थ राजाले आफूलाई जेल हाले उनी झन् सङ्कटमा पर्छन् वा मारिहाले पनि राजा बच्ने छैनन्, वा हामी सबै सँगै सकिन्छौँ...’ भन्ने थियो । पञ्चहरूका यस्ता अनेकन नकारात्मक प्रचार र प्रयत्नका बावजुद बिपी आफ्नो सिद्धान्तबाट कहिल्यै बिचलित हुनुभएन । बरु राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका खातिर जेलमै बसेर त्यो लडाइँको लक्ष्य पछ्याउन लागिपर्नुभयो । बरु विमानस्थलबाटै गिरफ्तार हुनुभयो । जुन शक्तिसँग मेलमिलाप गर्ने भनेर उहाँ आउनुभएको थियो त्यही निरङ्कुश शक्तिले उहाँलाई नेपाली भूमि टेक्नासाथ जेल पुर्यायो । बिपी डगमगाउनु भएन । बरु त्यहीँबाट आफ्ना कार्यकर्तालाई प्रजातन्त्रका लागि लड्न प्रेरित गरिरहनुभयो । पञ्चायतविरुद्ध लड्नका लागि सबै राजनीतिक शक्तिलाई एउटै मियोमा बाँधिन आह्वान गरिरहनु भयो । त्यही मियो थियो, राष्ट्रिय मेलमिलापको आधार स्तम्भ ।
बिपी हामीमाझ हुनुहुन्न । आज पनि देशको राजनीति अवस्था हेर्ने हो भने बिपीका सपना, उहाँका सिद्धान्त आदर्शका बाटाबाट नेपालको राजनीति धेरै टाढा टाढा बरालिइरहेको छ । आज पनि उहाँका नीति अनि उहाँका हरेक वाक्य र शब्द पनि यो समय र समाजका लागि उत्तिकै सान्दर्भिक लाग्छन् र भइरहेका छन् । एक राजनेताले आफ्नो जीवन कति वा कसरी बाँच्छन् भन्ने कुराले त्यति धेरै तात्त्विक अर्थ राख्दैन बरु बाँच्दासम्म कति युगीन विचार र सिद्धान्तहरू जन्माए भन्ने नै महìवपूर्ण हुन्छ । बिपीका यी नीति र सिद्धान्तलाई आफ्नो गर्भ सिद्धान्तका रूपमा लिएको नेपाली कांग्रेस आफैँमा एक ऐतिहासिक राजनीतिक शक्ति हो । जसले देशमा प्रजातन्त्र स्थापनाका लामो ऐतिहासिक लडाइँ लड्दै आएको छ । देश सङ्कटमा पर्दा जहिल्यै निर्णायक मोडमा नेपाली कांग्रेस सतिसाल झैँ उभिएको हुन्छ । आजपर्यन्त कांग्रेस देशको एउटा मुख्य राजनीतिक शक्ति रहिरहनुको एउटा गर्विलो इतिहास बिपीको त्यही सिद्धान्त र नीतिको एउटा मर्म पनि हो ।
‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ । आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने’ मेलमिलापको नीति लिएर फर्किंदा त्यो बेला नै बिपीले भन्नुभएको थियो, “भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ । हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेको हुने छौँ र हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदन रहँदैन । त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीको चालमा पर्ने खण्डमा हुन्छौँ ।”
त्यो एउटा समय थियो । त्यो एउटा युग थियो । सारा विश्वभर प्रजातन्त्र र स्वतन्त्रताको हुरी चलेको थियो र सारा राष्ट्रहरू अशान्त थिए । परिस्थितिका रूप अलि फरक छन् तथापि आज पनि विश्वभर त्यस्तै अशान्त हुरी चलिरहेको छ । नेपालको स्थिति पनि त्योभन्दा कत्ति फरक छैन । हिजो बिपीले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउनका लागि आफ्नो सारा जीवन त्यही लडाइँमा बिताउनुभएको थियो । मेलमिलापको एउटा आयाम त्यो पनि थियो । आज हामी फेरि एउटा अर्को एउटा लडाइँ लड्नुपर्ने भएको छ, त्यो भनेको जसरी यी तमाम परिवर्तनका विरुद्ध नकारात्मक, नैराश्य र खतराका मानक मडारिएका छन् तिनलाई चिर्न जरुरी छ र फेरि एक पटक त्यसका लागि कांग्रेसले नै अगुवाइ लिनुपर्ने भएको छ । अहिले पनि परिस्थिति फरक छैनन् । स्थितिहरू साम्य छैनन् । मात्रै तिनमाथि चलिरहेका हुरी र बतासका रूपहरू फरक छन् । ‘देश बन्दैन, देशमा केही हुँदैन’ भन्ने जुनप्रकारका आक्रोश र नैराश्यपूर्ण भाष्य निर्माण गरेर देशको जिउँदा र जाग्दो युवा शक्तिलाई पलायन वा राष्ट्रबाट बिमुख पार्न खोजिएको छ, त्यसको गहिरो चोट देशलाई नै पर्ने छ । यतिबेला देशमा दुई ठुला राजनीतिक शक्तिको सरकार छ । यही बेला सारा परिवर्तन र व्यवस्थाप्रति नै फेरि अदृश्य रूपमा धावा बोलिएका छन् । सारा युवा शक्ति पलायन भइरहेको छ । बिपीले भन्नुभएको थियो “राष्ट्रियता भनेको मात्रै राष्ट्र वा माटो होइन । बरु राष्ट्रियता भनेको त्यही माटोको सुगन्धसँग गाँसिने जनताको भावना हो ।” अहिलेको अवस्थामा हामीले देखिरहेका छौँ, सारा जनता नै रहेनन्, वा यो माटोको सुगन्धसँग उनीहरूको भावना र साइनोको गहिराइ मेटियो भने न राष्ट्र रहला न राष्ट्रियता नै । तसर्थ अब फेरि एक पटक सारा राष्ट्रिय शक्ति मिलेर सार्वजनिक अपिल गर्ने बेला भइसकेको छ । राजनीतिक दलहरूले एउटा निर्मम आत्मसमीक्षा र आत्मालोचना गर्दै फेरि एक पटक यो राष्ट्र र राष्ट्रियताका लागि आह्वान गर्ने बेला भइसकेको छ । त्यो बेला बिपीले राजासँग मिलेर राष्ट्र र राष्ट्रियता अनि प्रजातन्त्र जोगाऔँ भन्नुभएको थियो, आज हामी फेरि त्यही एउटा मोडमा आइपुगेका छौँ । यसरी हामीले हर राजनेताका दूरदर्शी सिद्धान्तलाई आत्मसात् गरेको ठहर्छ र उहाँको चिन्तन अनि मात्रै सपनाका अनुयायी बनिरहेको ठहर्ने छ । अब फेरि एक पटक राष्ट्रिय मेलमिलापका लागि कांग्रेसले नै अगुवाइ गर्नुपर्ने बेला भइसकेको छ ।
‘यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रा कार्यक्रम हुनुपर्छ’ बिपीले स्वदेश फर्किंदा गर्नुभएको अपिलका यी भावना अहिलेको परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक र आत्मसातयोग्य छन् ।
त्यो समयले बिपी पाएको थियो कि बिपीले त्यो समय पाएका थिए ? बिपीले समयको निर्माण गरे कि बिपी समयका उपज हुनुहुन्छ ? बिपी कोइराला र उहाँका बारेमा हुने थरीथरीका बहसमा सधैँ मिसिइरहने एउटा बहसको विषय हो– बिपी र बिपीको समय । बिपीले समयको निर्माण गरेका थिए कि थिएनन् वा त्यो समयले बिपी पाएको हो ? यो एउटा अनन्त बहस हो ।
जीवनका करिब आठ वर्ष निर्वासनमा बिताएका बिपी करिब सात वर्ष जेलभित्र बन्द हुनुभयो । केही समय रोगसँग लड्नु पर्यो । जहाँ रहे पनि जुनसुकै अवस्थामा रहे पनि बिपी राष्ट्र, राष्ट्रियता र जनताका प्रजातान्त्रिक अधिकारका लागि लड्नुभयो । आफैँसँग लड्नुभयो । निरङ्कुश पञ्चायतसँग लड्नुभयो । आफ्नो राष्ट्र र राष्ट्रियतामा कुनजर लगाइरहेका छिमेकी शासकसँग लड्नुभयो । १८ महिना प्रधानमन्त्री भएर सरकार पनि चलाउनुभयो । परिवर्तनको बेगसँगै बिपीको त्यो ज्वाजल्यमान व्यक्तित्वसँग डराएर फेरि दरबारले प्रजातन्त्रमाथि कुदृष्टि राख्यो र बिपीलाई जेल हालेर फेरि सत्ताको चाबी आफैँ चलाउन थाल्यो । निर्वासन अनि जेलको जीवन ।
बिपीले गुमाएका १५ वर्ष हुन् वा उहाँले नपाएका वर्ष दिनहरू ? बिपीले ती १५ वर्ष पाएको भए वा बिपी अरू १५ वर्ष बाँचेको भए के हुन्थ्यो होला ? त्यो युगीन सपना वा कल्पनाका यथार्थ मार्गचित्रमा हिँड्ने र राष्ट्रलाई हिँडाउन फेरि कांग्रेसले आफ्ना काँध बलियो पार्नुपर्ने बेला भएको छ । बिपीले कोरेको ‘मेलमिलाप’ को मार्गचित्रमा कोरिएका ती युगीन सपनामा जीवन्त रङ्ग भर्नका लागि कांग्रेस फेरि एक पटक एउटा फरक राष्ट्रिय लडाइँमा होमिनै पर्छ ।