काठमाडौँ, पुस १८ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
१९औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौँको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिरमा हुने खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ । चीनको होङझावमा गतवर्ष भएको १९औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल सङ्घको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यिनै २९ खेलाडीबाट एक एक पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित जनही एक लाख रुपियाँबाट सम्मान गरिने छ । यस्तै एक एक पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार रुपियाँ प्रदान गरिने छ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप एक एक जनालाई जनही ३५ हजार रुपियाँबाट सम्मान गरिने सङ्घले जनाएको छ ।
वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत एक जनालाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी सङ्घबीच सम्झौता भइसकेको छ ।