• २१ पुस २०८१, आइतबार

दीक्षान्तको इख (कथा)

blog

दीक्षान्त कक्षा ७ मा पढ्थे । उनको पढाइ त्यति राम्रो थिएन । धेरै कमजोर पनि थिएनन् । दीक्षान्तको पढाइ कमजोर छ भनेर कुनै पनि शिक्षकले प्रश्न सोध्नु हुँदैनथ्यो । प्रश्न नसोध्ने हुनाले उनी घरमा त्यति पढ्दैनथे । विज्ञान शिक्षकले एक दिन सबैलाई प्रश्न सोध्नुभयो तर दीक्षान्तलाई सोध्नुभएन । अर्को दिन गणित शिक्षकले यसै गरी प्रश्न सोध्न छुटाउनुभयो । तेस्रो दिन नेपाली शिक्षकले भन्नुभयो, ‘“दीक्षान्त पढदै पढ्दैन । उसलाई के प्रश्न सोध्नु ! ल, अरूले प्रश्नको उत्तर देओ ।”

अरूले प्रश्नको उत्तर दिएको तर आफूले उत्तर दिन नपाएकोमा दीक्षान्तलाई नरमाइलो लागेको थियो । केही शिक्षकको व्यवहारले दीक्षान्त निराश भएका थिए । साथीहरूले दीक्षान्तलाई भन्थे, “तिमी त कति भाग्यमानी, सर म्यामले कहिल्यै पनि प्रश्न सोध्नु हुन्न । ढुक्क छ । हामीलाई तनाव हुन्छ । कुन बेला प्रश्न सोध्नुहुन्छ, नजान्दा सजाय पाउनु पर्छ ।” उनले आफू पनि सजाय पाउन तयार भएको तर शिक्षकले प्रश्न सोधिदिने गरे हुन्थ्यो भन्ने जवाफ दिन्थे ।

निराशालाई उनले आँटमा बदल्दै घरमा निकै मेहनत गरी पढ्न थाले । अब दीक्षान्त शिक्षकले कहिले प्रश्न सोध्नुहोला र उत्तर दिउँला भनेर उनी पर्खेर बस्न थालेका थिए तर उनको उत्तर दिने पालो आउँदैनथ्यो । अरूलाई सोधिएको प्रश्नको उत्तर दीक्षान्तलाई आउने भइसकेको थियो । उनले ती प्रश्नको जवाफ दिन चाहन्थे तर शिक्षकको बेवास्ताका कारण मौन रहन्थे । एकदिन उनले सामाजिक विषयका शिक्षकलाई भने, “सर, मलाई किन प्रश्न नसोध्नुभएको हो ?”

शिक्षकले भन्नुभयो, “तिमी कहिल्यै पढेर आउँदैनौ । प्रश्नको उत्तर नदिनेलाई किन प्रश्न सोध्ने ?” दीक्षान्तले भने, “म अस्ति नै देखि पढ्न लागेको छु । तपाईंहरूले खाली अरूलाई मात्र प्रश्न सोध्नुभयो । कुनै समय कमजोर भएको विद्यार्थी सधैँ कमजोर हुन्छ र ?”

दीक्षान्तको कुराले शिक्षक अचम्ममा पर्नुभयो । उहाँले भन्नुभयो, “दीक्षान्त, म तिमीलाई सधैँ पहिले प्रश्न सोध्छु है ?” सरको कुराले दीक्षान्तको अनुहार उज्यालो भयो । उनी अअझै राम्ररी पढेर आउन थाले । पछि त शिक्षकहरूले प्रश्न सोध्न थाल्नुभयो । उनले सही जवाफ दिने गरेका थिए । शिक्षकहरू दीक्षान्तको पढाइप्रतिको लगाव देखेर खुसीका साथै अचम्म पनि पर्नुभएको थियो । ‘कहाँ त्यो बेलाको दीक्षान्त, कहाँ यस बेलाको दीक्षान्त’ भनेर दीक्षान्तले जसरी मेहनत गरेर पढ्नु पर्छ भनी शिक्षकहरूले कक्षाकोठामा सबै विद्यार्थीका सामु उदाहरण नै दिन थाल्नुभएको थियो । अर्को वर्ष त उनले सबै साथीलाई उछिनेर कक्षामा पहिलो भए ।    

मुना