• २० पुस २०८१, शनिबार

पाथीभराको रमाइलो

blog

कुरा २०८० साल चैतको हो । वार्षिक परीक्षा सकिएपछि सााथीहरूले घुम्न जाने योजना सुनाउन थाले । यता परीक्षापछिको बिदामा परिवारसँग धार्मिक यात्रा अन्तर्गत पाथीभरा (ताप्लेजुङ) जाने योजना पो बन्यो । त्यो यात्रामा बाबा, आमा, सानाबा, सानीमा, मामा, म र मेरो भाइसमेत जम्मा सात जना सहभागी हुँदै थियौँ । पाथीभरा जानुपर्ने विशेष उद्देश्य चाहिँ बिदा मनाउने र भाइका लागि सानाबा तथा सानीआमाले गर्नुभएको भाकल पूरा गर्नु थियो । कुनै उद्देश्य वा इच्छा वा चाहना पूरा गर्न भगवान्प्रति गरिने प्रतिबद्धतालाई भाकल भनिन्छ । यो इच्छा पूरा भएमा म यस्तो गर्छु भनेर भगवान्सँग प्रतिबद्धता गरिन्छ । इच्छाएको कुरा पूरा भएपछि आफूले गरिएको प्रतिबद्धतालाई पनि पूरा गर्नु पर्छ भन्ने धर्मसंस्कारमा मान्यता रहँदै आएको छ । त्यसै अनुसार हामीहरू पाथीभरा जान लागेका थियौँ ।



बिहान ३ बजे नै हामीलाई लिन गाडी आइपुग्यो । गाडीमा लुगाफाटाले भरिएका झोला राख्यौँ । हाम्रो गाउँ सप्तरीबाट ताप्लेजुङ, पाथीभरा पुग्न त्यति नजिक छैन । बिहान ३:१५ बजेतिर त हामी हिँडिहाल्यौँ । करिब दुई घण्टापछि सुनसरीको इटहरी पुग्यौँ र एउटा पसलमा चिया पियौँ । त्यहाँबाट पाथीभरा जान दुई वटा बाटा रहेछन् । धरान हुँदै जाने बाटो रोज्यौँ । पाथीभरा मन्दिर तीन हजार ७९४ मिटर उचाइमा रहेकाले त्यहाँ खानेकुरा महँगो हुन्छ भन्ने थाहा पाएर बाबा र सानाबा भएर धरानमा खानेकुरा किन्नुभयो । त्यसो गर्दा त्यहाँ आधा घण्टाभन्दा बढी नै अलमल भयो । धरान छोडेपछि तमोर खोला हुँदै अगाडि बढ्यौँ । धुलो र पातलो बस्ती भएको बाटो हुँदै हामी अपराह्न करिब २ बजे पाँचथरको सदरमुकाम फिदिम पुग्यौँ । फिदिमबजार राम्रो रहेछ । खाना गाडीभित्र थियो । बिहानीको खाना गाडी गुडिरहेकै बेलामा भित्र बसेरै खायौँ । गाडीमा बजेको गीत गुनगुनाउँदै हामी काबेली नदी पुग्यौँ । त्यहाँ गाडी रोकाएर खाजा खाई ताप्लेजुङको सुकेटार पुग्यौँ । 

त्यहाँबाट अर्को गाडी चढी तल्लो फेदीसम्म पुगेर होटेलमा बास बस्यौँ । खाना खायौँ । पूजाका लागि आवश्यक सामान किन्यौँ । त्यहाँदेखि मन्दिर पुग्न उकालो हिँड्नुपर्ने रहेछ । नुहाएर शरीर शुद्ध बनाई एउटा एउटा लट्ठी लिई बिहान ३ बजे नै उकालो लाग्यौँ । जाडो हुन्छ भनेर हामीले बाक्ला लुगा लगाएका थियौँ । अघिल्लो दिन त्यहाँ हिउँ परेको थियो रे ! त्यसैले हामी पुगेको दिनको मौसम सफा थियो । बिहानैदेखि घाम लाग्यो । उकालो चढ्दै जाँदा निकै थाकिने रहेछ । बिच बिचमा बिसाउँदै जाँदा रमाइलो लाग्यो । माथि पुग्दै गर्दा उचाइका कारण सास फेर्न गाह्रो हुँदो रहेछ । त्यसैलाई लेक लाग्ने भन्दा रहेछन् । त्यस्तो बेलामा हामी तलतिर हेर्दै लामो लामो सास तानेर विस्तारै उकालो चढ्न थाल्यौँ । त्यसपछि निकै राहत महसुस गर्‍यौँ ।


त्यहाँ हिँड्न नसक्ने वृद्धवृद्धालाई ‘मानव ट्याक्सी’ को सुविधा पनि रहेछ । जतासुकै लालीगुराँस फूल देख्न पाइने रहेछ । प्रत्येक १० मिनेटको बाटोमा शौचालयको व्यवस्था थियो । एकदम नौलो यात्रा भएकाले निकै रमाइलो लाग्यो । कोही बोका पनि डोराएर लाँदै थिए । हामी रमाइला गफ गर्दै, हाँस्दै, सुस्ताउँदै दुई वटा अग्ला पहाड पार गरेर पाथीको जस्तै आकारको तेस्रो पहाड पुग्यौँ । त्यहाँबाट, चार घण्टा हिँडेर आफू आएको बाटो तलतिर हेर्दा एक किसिमको डर लाग्यो । 

पाथीभरा मन्दिरबाट कञ्चनजङ्घा हिमाल पनि देखिँदो रहेछ । मन्दिरनजिकै पुगेर हामीले पूजाका सामान ठिक पार्‍यौँ । कञ्चनजङ्घा हिमाललाई आफूसँगै पर्ने गरी फोटो पनि खिच्यौँ । त्यहाँ मानिसको निकै घुइँचो थियो । मन्दिरको दर्शन गर्न करिब चार घण्टा लाइन लाग्नु पर्‍यो । त्यस मन्दिरमा मानिसहरू सन्तान प्राप्तिका लागि र अरू विभिन्न भाकल पूरा गर्न आउँदा रहेछन् । पाथीभरा देवीले जे मागे पनि दिनुहुन्छ भन्ने जनविश्वास रहेछ । यात्राको मुख्य उद्देश्य पूरा गरेपछि हामी इलामतिरको बाटो हुँदै रमाइलोसँग घर फक्र्यौं । यो यात्रा मेरा लागि अविस्मरणीय रहेको छ ।    

मुना