• २० पुस २०८१, शनिबार

आठ वर्षमा बन्यो पक्की पुल

blog

तम्घास समाचारदाता

तम्घास, पुस १७ गते  । गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको अवधिमा पुल निर्माण सम्पन्न भई मङ्गलबार उद्घाटन गरिएको हो  । 

पुलको गुल्मी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै पुल निर्माणले दुई प्रदेश र जिल्लाको सम्बन्धलाई थप टेवा पुगेको बताउनुभयो । पुल बन्नुभन्दा पनि यस पुलको प्रयोगले स्थानीयको आय आर्जनमा वृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०७३ भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।

ठेक्का सम्झौता भएको तत्कालीन कार्यालय नै खारेज भएपछि तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।