कालीकोट समाचारदाता
कालीकोट, पुस १७ गते । कालीकोटको पचालझरना गाउँपालिका–८, चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसिबी (डोजर) पल्टिँदा बेपत्ता भएकाको खोजी जारी रहेको छ । कर्णाली कोरिडोरबाट नदीपारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना–८ का ४० वर्षीय कुस्माकर सन्ज्याल बेपत्ता हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक गोविन्द चौधरीले पचालझरना–८, खडितोली निवासी निर्माण व्यवसायी मुक्ति सन्ज्यालको डोजर शुक्रबार अपराह्न ५ बजेतिर नदी पार गर्ने क्रममा पल्टिएको र उहाँका भाइ नाता पर्ने कुस्माखर सन्ज्यालसँगै बेपत्ता हुनुभएको बताउनुभयो । चाटेबगरबाट कर्णाली तारेर वडा नं. ४ मा ठेक्काको काममा लैजाने क्रममा डोजर नदीमा पल्टिएको स्थानीय प्रकाश सेजुवालले बताउनुभयो ।
चिसो मौसम र रात परेकाले आइतबार स्थगित भएको खोजी सोमबार बिहानबाट पुनः जारी रहेको प्रहरीले जनाएको छ । प्रविधिको अभावले प्रभावकारी खोजी हुन सकेको छैन । निमित्त प्रहरी प्रमुख चौधरीले मातहतका सबै प्रहरी युनिट परिचालन गरिएको र पहिलो चरणमा खोजी गरिसकेपछि नसकिएमा गोताखोर ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । कर्णालीको गहिरो ठाउँमा भएकाले जेसिबी निकाल्न सकिने अवस्था त छैन तर बेपत्ताको खोजी भने कर्णाली नदीका सबै किनारमा प्रहरी परिचालन गरेर भइरहेको उहाँले बताउनुभयो ।