तानसेन समाचारदाता
तानसेन, पुस १७ गते । तानसेन नगरपालिका र भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको तानसेनको एक चिस्यान केन्द्र १२ वर्षमा बल्ल निर्माण सम्पन्न हुने तरखरमा पुगेको छ ।
११ वर्षसम्म अलपत्र बनेको चिस्यान केन्द्र निर्माणको कामले गत वर्षदेखि गति लिएको हो । विसं २०६९ फागुन २३ गते निर्माणको ठेक्का पाएको हिम्दुङ एन्ड ठोकर/जय रक्तकाली जेभीले ११ वर्षसम्म काम अलपत्र छाडेको थियो । गत वर्षदेखि भने चिस्यान केन्द्र निर्माणले गति लिएको तानसेन नगरपालिकाले जनाएको छ । निर्माण कम्पनीले पहिलो पटक २०७१ जेठ मसान्तमा काम सक्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
मुख्य ठेकेदारलाई कारबाही गर्ने चेतावनीपछि गत वर्षदेखि चिस्यान केन्द्र निर्माणको काम द्रुत गतिमा अगाडि बढेको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म ८० प्रतिशत काम भइसकेको छ । गत वर्षसम्म २७ प्रतिशत मात्र काम भएको थियो । निर्माण व्यवसायीले हालसम्म चिस्यान केन्द्रको मुख्य भवन काम सम्पन्न गर्ने चरणमा छ । यस्तै घेराबार, सुरक्षाका लागि बस्ने घर निर्माणको काम पनि भइरहेको छ ।
निर्माण व्यवसायीले आगामी असार मसान्तभित्र काम सक्ने गरी काम गरिरहेको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र अब चिस्यान केन्द्रमा आवश्यक उपकरणको जडान र फर्निचर व्यवस्थापनको काम बाँकी रहेको उहाँले बताउनुभयो । लामो समय काम नगरेको भन्दै तानसेन नगरपालिकाले तीन वर्षअघि निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । गत वर्ष भारतीय दूतावासका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरेपछि कारबाही फुकुवा गर्नासाथ मुख्य निर्माण व्यवसायीले काम पुनः अगाडि बढाएको थियो । बाघखोर क्षेत्रको चार रोपनी क्षेत्रमा निर्माण भइरहेको चिस्यान केन्द्र दुई सय मेट्रिक टन क्षमताको रहेको छ । यो चिस्यान केन्द्र बनेमा पाल्पा, गुल्मी र स्याङ्जाका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल भण्डारण गर्न सक्ने छन् ।