• १९ पुस २०८१, शुक्रबार

‘डा. भीम रावलले नयाँ पार्टी खोल्ने कुरा सुनेको छैन’

blog

झपट रावल र प्रकाश शाह ।

काठमाडौं, पुस १६ गते। नेकपा (एमाले) ले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावललाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ। पार्टी सचिवालयको यो निर्णयपछि डा. रावल अब कुन पार्टी प्रवेश गर्नुहुन्छ या नयाँ पार्टी खाेल्नुहुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। डा. रावल निकटका नेताले भने एमालेको केन्द्रीय कमिटीको बैठकसम्म नेता रावलले धैर्यता अप्नाउनुपर्ने सुझाव दिएका छन्।

नेकपा (एमाले) का नेता झपट रावलले यस किसिमको निर्णय तथा गतिविधिले पार्टीको आन्तरिक लोेकतन्त्र, विचार निर्माण तथा संगठन विस्तारको क्षेत्रमा क्षति पुग्ने बताउनुभयो।

नेता झपटले डा. रावलले नयाँ पार्टी खोल्ने विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “यस विषयमा त मैले सुनेको छैन। मेरो भेट पनि भएको छैन।”

यस्तै, एमाले नेता प्रकाश शाहले पनि केन्द्रीय कमिटीको बैठकले यो निर्णयमाथि छलफल गर्ने बताउनुभयो । 

नेता शाहले भन्नुभयो, “डा. भीम रावल प्रखर, सिद्धान्तनिष्ठ, मूल्य, मान्यतामा उभिएको राष्ट्रिय व्यक्तित्व हो। उहाँले नयाँ बाटो राेज्ने कुरा पार्टी आन्दोलनको हित हुन सक्दैन। त्यसैले यो कुरामा उहाँले विचार गर्नुपर्छ ।”

शाहले नेता रावलले पनि केन्द्रीय कमिटीको निर्णयसम्म धैर्यता राख्नुपर्ने सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “डा. भीम रावलले पनि धैर्यता गरेर पार्टी केन्द्रीय कमिटीमा कुन ढङ्गले मत आउँछ, केन्द्रीय कमिटीका सदस्यहरुको आफ्नो मौलिक विचार, स्वतन्त्र निर्णय, आफ्नो अभिमत, राय पर्खनुपर्छ। केन्द्रीय कमिटीले त्यो विषयमा कस्तो पाइला चाल्छ, डा. भीम रावलले धैर्यतापूर्वक त्यो बैठकलाई पर्खदा उचित हुन्छ जस्तो मलाई लाग्छ।”

एमालेको यही पुस १० गतेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष डा. रावललाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरेको थियो। यसैगरी, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालयको यो निर्णय गरे लगत्तै  केन्द्रीय कमिटी बैठक बाेलाएको हो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।