• १५ असार २०८२, आइतबार

कोरम नपुगेर बैठक स्थगित हुने भएपछि क्यालेन्डर बनाउन सांसदको माग

blog

मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक ।

काठमाडौं, पुस १६ गते । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरूले क्यालेन्डर बनाउनुपर्ने माग गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेन्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरूको भनाइ छ ।

बैठकमा बोल्नुहुँदै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नका लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरू गैरजिम्मेवार जस्तो देखिएको बताउनुभयो । उहाँले संसद् चलेपछि त्यहीअनुसारको क्यालेन्डर बनाएपनि त्यसअघिका लागि समितिको छुट्टै क्यालेन्डर बनाउनुपर्ने जानकारी दिनुभयो । समितिको काम अनुगमन गर्ने र उजुरीहरू हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरू गर्न नसकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘क्यालेन्डर बनेको अवस्थामा अरू कामहरू गर्न पनि पाइयो । यो त निकै अप्ठ्यारो भयो । अर्को, अनुगमनहरू हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरूमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरूमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’’

बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरूको सुनिश्चतता गर्नुपर्ने बताउनुभयो । उहाँले समितिले गरेका निर्णय र निर्देशनहरू सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरू दिने ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटी पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरू सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरू दिने ? यो कुराको सुनिश्चितता हुनुपर्‍यो । अनि बैठकको बारेमा जानकारी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरू भइरहेका छन् । यसमा समितिले पनि ध्यान दिनुपर्‍यो है । ’’

बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेन्डर बनाएर काम कारबाही गर्नुपर्ने बताउनुभयो । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेन्डर आवश्यक रहेको उहाँको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरूले समितिका काम कारबाही प्रभावकारी बनाउन छुट्टै क्यालेन्डर बनाउन आवश्यक रहेको बताउनुभयो ।