आयाम कोइराला
कक्षाः १०, भाष्कर मेमोरियल स्कुल
फूलबारी, पोखरा
साथीहरू, सबैलाई नमस्कार । चाडपर्वपछि तपाईंहरू अभिभावकसँग घुम्न निस्कने योजनामा हुनुहुन्छ । अनि विद्यालयले पनि शैक्षिक भ्रमणमा लैजान्छ होला । भन्नुस् त तपाईंहरूलाई सबैभन्दा बढी मन पर्ने ठाउँ कुन हो ? हो, धेरैले पक्कै जवाफ दिनुहुन्छ– पोखरा । एक पटक घुमिसक्नुभएको छ भने पनि पोखराको मनमोहक दृश्य अनि यहाँको आतिथ्यताले तपाईंहरूलाई फेरि लोभ्याउने छ ।
पोखरा भन्नेबित्तिकै तपाईंको मनमस्तिष्कमा पक्कै पनि सुन्दर फेवाताल अनि त्यसमा डुबुल्की मारेको कुमारी माछापुच्छ्रे हिमालको दृश्य खेल्छ होला । हो, फेवा र माछापुच्छ्रे यहाँका मुख्य आकर्षण हुन् तर पोखरासँग जोडिएका धेरै विषयवस्तु छन् । जसले पोखरालाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगत्सम्म चिनाउन सफल भएका छन् ।
पोखरामा फेवा मात्रै होइन अरू आठ वटा ताल छन् । वेगनास, रूपा, दिपाङ खास्टे, न्युरेनी, गुँदे, मैदी र कमलपोखरी छन् । त्यसैले पोखरालाई तालैतालको सहर पनि भनिन्छ । फेवा, वेगनास र रूपातालमा डुङ्गा सयर गर्न सकिन्छ । अरू ताल विस्तारै हराउँदै जान थालेका छन् । फेवातालसँगै जोडिएको तत्कालील राजाको हिउँदे दरबार छ । रत्नमन्दिरका नामले चिनिएको दरबार क्षेत्र अहिले सर्वसाधारणका लागि खुला गरिएको छ ।
फेवातालबाट निस्केको पानी केही तल पाताले छाँगो हुँदै गुप्तेश्वर गुफातिर झर्छ । अनि अलि तल गएर फुस्रेखोलामा मिसिन्छ । यहाँको अर्को मनमोहक दृश्य भनेको लुकेर बगेको सेती हो । अचम्म त के छ भने पोखराको बिच हुँदै बगेको सेती नदी मुख्य बजार क्षेत्रमा बाहिर देखिँदैन । माथि गाईघाटभन्दा केही तलबाट लुकेको सेती रामघाटमा आएर बल्ल देखिन्छ । महेन्द्रपुल, पृथ्वीचोकको चाइनापुलबाट यो नदी हेर्न सकिन्छ । अनि नि साथीहरू अघि भनिएको गुप्तेश्वर मात्र होइन पोखरामा महेन्द्र र चमेरो गुफा पनि छ । त्यसो त गुप्तेश्वरभन्दा केही तलतिर अर्को गुफा पनि छ तर त्यो त्यति चर्चामा छैन ।
प्रकृतिकै कुरा गर्दा जुम्ल्याहा जस्ता लाग्ने सराङकोट र काहुँडाँडा छन् । जहाँबाट उत्तरतिर हेर्दा अन्नपूर्ण हिमशृङ्खलासहितको दृश्य अवलोकन गर्न सकिन्छ । पूर्व, पश्चिम र दक्षिणतिर फैलिँदै गरेको पोखराको दृश्यले तपाईंहरूको मन खिच्छ । सराङकोट अलि पहिल्यैदेखि चर्चामा आए पनि काहुँडाँडातिर भने पछिल्ला केही वर्षयता मात्र स्वदेशी र विदेशी पर्यटक जान थालेका हुन् । सूर्योदय र सूर्यास्तको दृश्यावलकोनका लागि यी डाँडा चर्चित छन् । प्रकृतिसँगै पोखरामा धार्मिक विविधताको थलो पनि हो । विन्ध्यवासिनी, फेवातालको बिचमा रहेको तालवाराही, भद्रकाली, कास्कीकोट, नारायण स्थान, रामन्दिर, केदारेश्वर आदि मठमन्दिर हिन्दु धर्मावलम्बीबिच लोकप्रिय छन् । अहिले त पोखराको पुम्दीभुम्दीमा विशाल महादेवको मूर्ति बनाइएको छ । पोखरा आउनेका लागि पछिल्लो समय अनिवार्य गन्तव्य बनेको छ । शिवको दर्शन मात्र होइन हिमाली लहर र बेँसीको सुन्दर दृश्य अवलोकनका लागि यो ठाउँ उपयुक्त छ ।
पोखराकै कुँडहरमा दुई शताब्दीभन्दा पुरानो मुस्लिम बस्ती छ । मुस्लिम बस्तीको बिचमा रहेको मस्जिद धार्मिक सहिष्णुताको प्रतीक बनेको छ । बाटुलेचौरमा गन्धर्व बस्ती छ । नजिकैको डाँडामा मनाङे गुम्बा छ । त्यसो त फेवातालको माथि पुम्दीमा विश्व शान्ति स्तूप पनि छ । नदीपुरको शताब्दी पुरानो धर्मशिला बुद्ध विहार अर्को धार्मिक आस्थाको केन्द्र हो । इसाई धर्मका चर्च पनि यहाँ उत्तिकै प्रख्यात छन् ।
साथीहरू यति पढिसक्दा तपाईंहरूलाई अहिले नै पोखरा जाउँजाउँ भयो होला है ! यति मात्र कहाँ हो र ? पोखरा साहसिक खेलप्रेमीका लागि पनि उत्तिकै मन पर्ने ठाउँ हो । यहाँ प्याराग्लाइडिङबाट उडेर हिमाल र पोखराको दृश्य हेर्दै आनन्द लिन सकिन्छ । पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडाइन्थ्यो । अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि केही पर तोरीपानी भन्ने ठाउँबाट प्याराग्लाइडिङ उड्न पाइन्छ ।
कम्मरमा डोरी बाँधेर सेतीको खोल्सामा हामफाल्ने गरी बन्जीजम्प पनि पोखरामा गर्न पाइन्छ । सराङकोटबाट हेम्जाको फाँटमा झर्ने गरी जिपलाइन पनि बनाइएको छ । हट एअर बेलुन, स्काइ डाइभिङको मजा पनि पोखरामा लिन पाइन्छ । फेवातालको किनारबाट सराङकोटसम्म जान अहिले केबलकार सञ्चालनमा आइसकेको छ । अनि पोखरा र हिमाल हेर्नका लागि पुतली जहाज भनेर चिनिने अल्ट्रालाइट पनि पोखराको आकाशमा उडाइन्छ ।
अनि नि साथीहरू पोखराको रातो पहिरोमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र नयाँबजारमा प्रदेश सङ्ग्रहालय पनि छन् । पोखरालाई पानी रङको पाठशाला पनि भनिन्छ । कवि शिरोमणि लेखनाथ पौडेल, लोककवि अलि मियाँ, धर्मराज थापा, विनोद गौचन आदिले आफ्ना सिर्जनामार्फत पोखरालाई चिनाउने काम गरे ।
साथीहरू पोखरा आएर कहाँ बस्ने, के खाने अनि कसरी घुम्ने भन्ने अलमलमा तपाईंहरू पर्नु नै पर्दैन । यहाँ त सामान्यदेखि तारे होटेलसम्मले तपाईंहरूलाई बास दिन्छन् । थकाली भान्सामा पाकेको स्वादिलो खाना खान पनि पाइन्छ । घुम्नका लागि तपाईंहरूले अहिले गुगल म्यापको सहारा लिन पनि सक्नुहुन्छ । अझ सहजताका लागि सिटी गाइडहरू पोखरामा प्रशस्तै भेटिन्छन् । पोखरानजिकैका गाउँमा होमस्टेको पनि प्रबन्ध छ । दुई दिन पोखरामा बस्नुभयो भने यी सबै ठाउँ तपाईंहरू घुम्न सक्नुहुने छ । थप एक वा दुई दिन बस्ने हो भने घान्द्रुक, सिक्लेस, ताङतिङ वा नजिकैको ल्वाङघलेल, धम्पुस पनि जान सक्नुहुन्छ । परिवार वा साथीभाइसँग मिलेर पोखरा आउनुस् है । यो हाम्रो निम्तो स्विकार्नुहोस् । हामी स्वागत गर्न तयार छौँ ।